वीरगंज। वीरगंज महानगरपालिका–२० स्थित हरपतगंज गाउँँ जाने सडक विगत ९ वर्षदेखि अलपत्र अवस्थामा रहेको स्थानीयले गुनासो गरेका छन्।
हरपतगंज गाउँँ पुग्ने मुख्य बाटो नै लामो समयदेखि जीर्ण तथा अव्यवस्थित अवस्थामा रहेपछि स्थानीयलाई आवतजावतमा समस्या हुँदै आएको छ। सडकको अवस्था सुधारका लागि पटक–पटक आवाज उठाए पनि अहिलेसम्म ठोस काम नभएको उनीहरूको भनाइ छ।
स्थानीय साजन पुरीका अनुसार वर्षाैंदेखि सडक निर्माणको आश्वासन सुन्दै आए पनि सडकको अवस्था भने उस्तै छ। निर्वाचनका बेला विकासका प्रतिबद्धता गरिए पनि निर्वाचित जनप्रतिनिधिले स्थानीयको मुख्य समस्यालाई प्राथमिकतामा नराखेको उनले गुनासो गरे।
त्यस्तै अर्का रोशन रामले सडकको दुरवस्थाका कारण दैनिक आवतजावतदेखि बिरामी तथा आकस्मिक अवस्थामा समेत समस्या हुने गरेको बताए। उनका अनुसार सामान्य वर्षा हुँदा बाटो थप खराब हुने र हिँडडुल तथा सवारीसाधन सञ्चालनमा कठिनाइ हुने गरेको छ।
सञ्जय यादवले वर्षाैंसम्म सडक निर्माणको विषय उठे पनि समस्या समाधान नभएको भन्दै स्थानीय निराश बनेको बताए। “जुन जोगी आए पनि कानै चिरेको” जस्तै अवस्था रहेको उल्लेख गर्दै यादवले नेतृत्व फेरिए पनि वडाको विकासको अवस्था नफेरिएको गुनासो गरे।
यसअघिका वडाध्यक्ष पारस यादवले आफ्नो कार्यकालमा समेत वडाको विकासका लागि पर्याप्त बजेट तथा योजना नआएको दाबी गरे।
यादवका अनुसार हरपतगंज जाने सडक स्थानीयको लामो समयदेखिको माग भए पनि सडक निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढ्न सकेन। सडकसँगै वडाका अन्य विकासका आवश्यकतामा समेत पर्याप्त ध्यान नदिइएको उनको भनाइ छ। उनले महानगरपालिकाबाट आवश्यक बजेट तथा योजना सुनिश्चित हुन नसक्दा वडाका कतिपय विकासका काम प्रभावित भएको बताए।
उनले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले आफ्नो कार्यकालमा सडक निर्माणका लागि मात्रै नभई वडाका अन्य विकास योजनामा समेत पर्याप्त बजेट विनियोजन नगरेको आरोप लगाए।






