आफूविरूद्ध नियोजित रूपमा षड्यन्त्र र घेराबन्दी– खगेन्द्र सुनार

1200x150_1200x150-01.jpg (1)

काठमाडौं। राजदूत नियुक्तिमा करोडौं रकम असुलेको आरोपका विषयमा रास्वपा सांसद खगेन्द्र सुनारले आफ्नो बचाउ गरेका छन्।

उनले साउदी अरबका राजदूत गिरबहादुर सुनारसँग आफ्नो थरमात्र मिलेको दाबी गरे। जवाफ दिने क्रममा सांसद सुनार प्रहरीको उच्च नेतृत्व र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) माथि खनिएका थिए। उनीहरूले आफूविरूद्ध नियोजित रूपमा षड्यन्त्र र घेराबन्दी गरिरहेको आरोप उनले लगाए।

दलित आन्दोलनको नाममा १० करोड रुपियाँँ उठाएर हिनामिना गरेको तथा सरूवा(बढुवामा लेनदेन गरेको आरोपलाई सांसद सुनारले व्यङ्ग्यात्मकरूपमा अस्वीकार गरे।

उनले भने, ‘६० लाख दलितहरूले मलाई पार्टी खोल्न ६० करोड दिनुभएको थियो, १० करोड मात्र आयो भन्नुहुन्छ, बाँकी ५० करोड कहाँ गयो त्यो पनि खोज्नुस्। मेरो नाममा कुनै व्यापार, व्यवसाय वा सेयर छैन। नागरिकता र पासपोर्टबाहेक अरू केही सम्पत्ति छैन। माइतीघरमा आन्दोलन गर्दा खाएको भातको पैसा अझै तिर्न बाँकी छ।’

उनले आफूलाई बदनाम गराउन भारत, अमेरिका, नरेन्द्र मोदीदेखि बालुवाटार र न्युरोडका सुन पसलहरूसम्म जोडेर भ्रामक प्रचार गरिएको टिप्पणी गरे।

साउदी अरेबियाका लागि प्रस्तावित राजदूत डा. गिरबहादुर सुनारले संसद खगेन्द्र सुनारसँग मिलेर रकम व्यवस्थापन गरेको विषयमा संसदीय सुनवाइ समितिमा उजुरी परेको छ।

यस विषयमा सुनारले आफूहरू ‘थर’ मात्रै मिलेको र गिरबहादुरलाई आफूले नचिनेको दावी गरे।

उनले भने, ‘डा. गिरीबहादुर सुनारसँग मेरो कुनै आर्थिक साँठगाँठ छैन। उहाँसँग मेरो थर र ओशोको माला मात्र मिलेको हो। सरकारको मापदण्ड पूरा गरेर आएका व्यक्तिलाई मसित जोडेर बदनाम गर्न खोजियो।’

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनाइदिने भन्दै ५० लाख रुपियाँँ लिएको भन्ने आरोपलाई पनि उनले कपोलकल्पित भनेका छन्। उनले प्रहरी नेतृत्वले आफूविरूद्ध षडयन्त्र गरेको दाबी गरे।

सांसद सुनारले नेपाल प्रहरीको हेडक्वार्टर र सीआईबी आफूविरूद्ध व्यक्तिगत प्रतिशोध साध्न लागिपरेको आरोप लगाए।

उनले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको नामै किटेर स्रोतसाधनको दुरूपयोग गरी मिडिया र सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रहत्या गर्न साइबर टिम परिचालन गरेको दाबी गरे।

‘सीआईबीले प्राइभेट नम्बरबाट फोन गरेर मसँग जोडिएका मान्छेहरूलाई धम्काइरहेको छ, मेरो पछाडि डीएसपी र एसपी खटाइएको छ,’सुनारले भने, ुदम छ भने प्रहरी महानिरीक्षकले बर्दी खोलेर राजनीतिमा आउनुपर्छ। हेडक्वार्टरमा बसेर सांसदलाई लखेट्न मिल्दैन।’

उनले निष्पक्ष छानबिनका लागि आफू र प्रहरी नेतृत्व दुवै तयार हुनुपर्ने भन्दै चुनौती दिए।

सम्बन्धित पोस्टहरुः