वीरगंज, असोज २४ –
नेकपा एमालेका नेता तथा पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका दुई छोरा कर्तव्य ज्यान र शान्तिविरुद्धको कसुरसम्बन्धी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका छन्।
पर्सा जिल्ला अदालतको आदेशपछि जालिमका जेठा छोरा नासिर अहमद मन्सुरी र कान्छा छोरा जाफिर अहमदलाई वीरगंज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
प्रहरीका अनुसार जाफिरलाई असोज १५ गते र नासिरलाई असोज ३ गते पक्राउ गरिएको थियो। दुवै जनामाथि २०७८ असोज २१ गते जाफिरकी सालीको मृत्यु भएपछि शव प्रहरीलाई जानकारी नदिई वीरगंज–१३ मुर्लीस्थित कब्रिस्तानमा गाड्न खोजिएको घटनामा संलग्न रहेको आरोप छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मृतक युवतीको गाउँकै क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको थियो। घटनामा जबर्जस्ती करणी र अत्यधिक रक्तस्रावको प्रसंगसमेत जोडिएको छ। उक्त घटनाको अनुसन्धान करिब पाँच वर्षपछि अघि बढाइएको हो।
प्रहरीले घटनामा संलग्न रहेको आशंका गरिएका अन्य व्यक्तिको खोजी भइरहेको जनाएको छ। अदालतको आदेशअनुसार दुवै प्रतिवादी पुर्पक्षका लागि कारागार चलान भएका हुन्; उनीहरूमाथिका आरोपको अन्तिम फैसला हुन बाँकी छ।







