बारा । सिमरा भेट्रान क्लबको आयोजनामा असोज १७ गतेदेखि सुरु भएको बाराको जीतपुरसिमरा उपमहानगरपालिका -१, सिमरास्थित सिमरा रंगशालामा ‘नारीको आत्म सम्मानसँगै राष्ट्र र स्वास्थ्यको लागि खेलकुद गरौँ र खेलौं’ भन्ने नारासहित ‘छैठौं जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता – २०८३’ को फाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले उपाधि जितेको छ ।
नेपाल एपीएफ क्लबलाई ट्राइ ब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब प्रतियोगिताको विजेता भएको हो । दुवै टोलीबीचको खेल सुरुदेखि नै प्रतिस्पर्धात्मक बनेको थियो । खेलेको पहिलो हाफ र दोस्रो हाफमा दुवै टोलीले गोल रहित रहे, भने ट्राइ ब्रेकर त्रिभुवन आर्मी फुटबल क्लबले ४ गोल गरेको थियो ।
महिला फुटबलको विकास तथा प्रवर्द्धनसँगै महिला खेलाडीहरुलाई उच्चस्तरीय प्रतिस्पर्धाको अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । खेलकुदमार्फत स्वास्थ्य, अनुशासन र आत्मविश्वास अभिवृद्धि गर्ने लक्ष्यसमेत प्रतियोगिताले लिएको आयोजकको भनाइ छ । विजेता त्रिभुवन आर्मी फुटबल क्लबले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा ट्रफी प्राप्त गरेको छ, भने उप-विजेता नेपाल एपीएफ क्लबले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ तथा ट्रफी प्राप्त गरेको छ ।
प्रतियोगितामा नेपालका विभागीय तथा क्लब टोलीसँगै भारतका टोली गरी ८ वटा टोलीको सहभागिता रहेका छन् । प्रतियोगितामा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, स्टार स्पोर्ट युवा क्लब माडी (चितवन), फेयर फुटबल क्लब (धरान), कुर्साङ गोल्स फुटबल क्लब (दार्जिलिङ,भारत), झारखण्ड स्टेट स्पोर्ट्स प्रमोशन सोसाइटी (झारखण्ड, भारत) र आयोजक सिमरा भेट्रान क्लब रहेका थिए । प्रतियोगिताको मुख्य प्रायोजक एक्स्ट्रीम इनर्जी ड्रिङ्क्स रहेको थियो ।
जीतपुरसिमरा उपमहानगरपालिका तथा नगरका २४ वटै वडा कार्यालय मुख्य सहयोगीका रूपमा रहेका थिए । नेपाल लुब आयल, हुलास स्टील र नेपोभिट टाइल्स को-स्पोन्सरका रूपमा जोडिएका थिए । त्यस्तै, जगदम्बा स्टील, मार्बी इन्जिनियरिङ, सिमरा अटो जोन, क्लासिक इन्डस्ट्रिज, हिमालयन डिस्टिलरीलगायत विभिन्न व्यावसायिक प्रतिष्ठानले प्रतियोगितामा सहयोग तथा साझेदारी गरेका थिए । बैंक तथा वित्तीय संस्था, स्वास्थ्य संस्था, इन्टरनेट, बीमा, टिकटिङ, प्रसारण, प्रवर्द्धन तथा फिटनेस क्षेत्रका संस्थासमेत प्रतियोगिताका साझेदारका रूपमा जोडिएका छन् ।






