धादिङ असोज २५ –
त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ।
धादिङको गजुरी गाउँपालिका–५ गलौँदीस्थित सडकखण्ड मर्मत गरेपछि दिउँसो ३ बजेदेखि यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
सडक भासिएपछि अघिल्लो साँझदेखि अवरुद्ध राजमार्ग खुलाउन सडक विभाग र नागढुङ्गा–नौबीसे–मुग्लिन सडक आयोजनाको टोली खटिएको थियो।
राजमार्ग अवरुद्ध हुँदा काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन प्रभावित भएका थिए। दसैँमा घर फर्किने यात्रुको चाप बढिरहेका बेला सडक बन्द हुँदा यात्रु तथा यातायात व्यवसायीले सास्ती भोग्नुपरेको थियो।






