वीरगन्ज। प्याब्सन वीरगन्ज र प्याब्सन पर्साको संयुक्त आयोजनामा विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।
विद्यासदन माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रमको अध्यक्षता प्याब्सन पर्साका जिल्ला अध्यक्ष सरोजकृष्ण चौधरी र प्याब्सन वीरगन्जकी उपाध्यक्ष शर्मानन्द कुशवाहाले गर्नुभएको थियो।
कार्यक्रममा प्याब्सन पर्साका वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय र सल्लाहकार ललन द्विवेदीले उपस्थित सम्पूर्ण प्याब्सनिष्टहरूलाई विजयादशमीको शुभप्रतीकका रूपमा टीका, फूल र दक्षिणासहित आशीर्वाद प्रदान गर्नुभएको थियो। उक्त अवसरले आपसी सद्भाव, सम्मान र भाइचाराको भावनालाई थप प्रगाढ बनाएको थियो।
कार्यक्रममा प्याब्सन पर्साका वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय, सल्लाहकार ललन द्विवेदी, वरिष्ठ उपाध्यक्ष सुशीला साह, उपाध्यक्ष वीरेन्द्र यादव, सचिव अशोक सङ्ग्रौला, प्याब्सन वीरगन्जका सचिव अमित आलोक, कोषाध्यक्ष सुरज पटेल तथा प्रमुख सल्लाहकार आलोक चौरसियालगायत प्याब्सनमा आबद्ध विद्यालयका संस्थापक तथा प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो।
शुभकामना आदान–प्रदान कार्यक्रममा प्याब्सन कार्यसमिति सदस्य फजिल अहमद, ज्ञानदा एकेडेमीका सीईओ तथा प्रिन्सिपल राजेन्द्रप्रसाद कोइराला, गुरुकुल एकेडेमीका प्रिन्सिपल तेजिन्दर कौर र प्याब्सन सदस्य विद्यालय बीपीएसका निर्देशक राजेन्द्रप्रसाद चौधरीलगायतले मन्तव्य व्यक्त गर्दै विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना दिनुभएको थियो।
वक्ताहरूले चाडपर्वले आपसी सद्भाव, एकता, भाइचारा र सामाजिक सहकार्यलाई बलियो बनाउने विश्वास व्यक्त गर्दै शैक्षिक क्षेत्रको गुणस्तरीय विकासका लागि विद्यालयहरूबीच सहकार्य र समन्वय आवश्यक रहेको धारणा राख्नुभएको थियो।
कार्यक्रममा सहभागीहरूले एकअर्कालाई चाडपर्वको शुभकामना आदान–प्रदान गर्दै सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेका थिए।
कार्यक्रमको सहजीकरण विद्यासदन माध्यमिक विद्यालयले गरेको थियो।





