नवरात्रको पाँचौँ दिन आज स्कन्दमाता देवीको पूजा आराधना गरिँदै

1200x150_1200x150-01.jpg (1)

पर्सा , असोज २९ –

बडादसैँअन्तर्गत नवरात्रको पाँचौँ दिन आज नवदुर्गामध्येकी पाँचौँ स्वरूप स्कन्दमाता देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीका दिन स्कन्दमाता देवीको पूजा गर्ने धार्मिक परम्परा छ। नवरात्रका अवसरमा घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत् तथा देवी स्तोत्र पाठ गरी देवीको आराधना गरिन्छ।

धार्मिक मान्यताअनुसार नवरात्रमा दुर्गा देवीको पूजा आराधना गर्नाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास छ। वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नौ दिन देवीका विभिन्न स्वरूपको विशेष पूजा गर्ने परम्परा छ।

दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ दिन स्कन्दमाताको पूजा गरिन्छ। त्यसपछि छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको आराधना गर्ने विधान छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।

नवरात्रमा नौ दिनसम्म पूजा आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादस्वरूप टीका र जमरा लगाउने चलन छ। यसरी नेपालीले धार्मिक विधि र परम्पराअनुसार बडादसैँ पर्व मनाउँदै आएका छन्।

सम्बन्धित पोस्टहरुः