पोखरिया प्रादेशिक अस्पतालमा चार महिनादेखि प्रसूति शल्यक्रिया सेवा बन्द

1200x150_1200x150-01.jpg (1)

वीरगंज असोज २९ –

पर्साको पोखरिया प्रादेशिक अस्पतालमा चार महिनादेखि प्रसूति शल्यक्रिया सेवा बन्द हुँदा गर्भवती महिला समस्यामा परेका छन्। आवश्यक चिकित्सक तथा स्वास्थ्य जनशक्तिको अभावमा सेवा अवरुद्ध भएपछि शल्यक्रिया गर्नुपर्ने गर्भवती महिला निजी अस्पताल तथा वीरगंजका स्वास्थ्य संस्थामा जान बाध्य भएका छन्।

अस्पताल स्रोतका अनुसार दैनिक पाँचदेखि छ जनासम्म गर्भवती महिला प्रसूति सेवा लिन अस्पताल पुग्ने गरेका छन्। तर शल्यक्रियामार्फत प्रसूति गराउनुपर्ने महिलालाई आवश्यक चिकित्सकको अभावमा सेवा दिन नसकिएको स्रोतले जनाएको छ। यसबाट विशेषगरी आर्थिक रूपमा विपन्न तथा ग्रामीण क्षेत्रका महिला प्रभावित भएका छन्।

यसअघि अस्पतालमा निक साइमन संस्थाको सहयोगमा स्त्रीरोग तथा प्रसूति सेवासम्बन्धी कार्यक्रम सञ्चालन हुँदै आएको थियो। उक्त कार्यक्रममार्फत गर्भवती महिलालाई आवश्यक सेवा प्रदान गरिँदै आएकोमा अस्पताल १५ शय्याबाट प्रादेशिक अस्पतालमा स्तरोन्नति भएपछि सहयोग कार्यक्रम बन्द भएको बताइएको छ।

निक साइमन संस्थाले १५ शय्याको अस्पताललाई लक्षित गरी सहयोग गर्दै आएको र अस्पतालको संरचना परिवर्तन भएपछि कार्यक्रम निरन्तर हुन नसकेको जनाइएको छ। तर सहयोग कार्यक्रम बन्द भएपछि वैकल्पिक व्यवस्था गरेर शल्यक्रिया सेवा सञ्चालन गर्न नसक्दा स्थानीयले अन्य स्वास्थ्य संस्थामा जानुपर्ने अवस्था आएको छ।

सामान्य प्रसूति सेवाका लागि अस्पताल पुग्ने महिलाले जटिल अवस्था आएमा अन्यत्र जानुपर्ने बाध्यता छ। समयमै आवश्यक शल्यक्रिया सेवा उपलब्ध नहुँदा आमा तथा नवजात शिशुको स्वास्थ्यमा जोखिम बढ्न सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

स्थानीयवासीले अस्पतालमा स्त्रीरोग विशेषज्ञ, एनेस्थेसिया सेवा तथा आवश्यक स्वास्थ्य जनशक्तिको व्यवस्था गरी प्रसूति शल्यक्रिया सेवा तत्काल सञ्चालन गर्न प्रदेश सरकार र पोखरिया नगरपालिकासँग माग गरेका छन्।

गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको सेवा लामो समयदेखि बन्द रहनु गम्भीर विषय भएको भन्दै स्थानीयले सम्बन्धित निकायलाई तत्काल पहल गर्न आग्रह गरेका छन्। सेवा पुनः सञ्चालन भए पोखरिया तथा आसपासका क्षेत्रका नागरिकले आफ्नै क्षेत्रमा सहज र सुलभ उपचार पाउने अपेक्षा गरिएको छ।

साभार // प्रतीक दैनी : धर्मेन्द्र चौरसिया

सम्बन्धित पोस्टहरुः