मकवानपुर , असोज ३० –
सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारीसाधनको गति नियन्त्रण गर्न मकवानपुरमा आजदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडादेखि भैँसे, भीमफेदी, कुलेखानी हुँदै फर्पिङबाट काठमाडौं जाने सडकखण्डमा सञ्चालन हुने सवारीसाधनका लागि यो व्यवस्था लागू गरेको हो।
प्रहरी प्रमुख एसपी श्यामबहादुर खत्रीका अनुसार निर्धारित समयभित्र सुरक्षित यात्रा सुनिश्चित गर्दै तीव्र गतिका कारण हुने दुर्घटना कम गर्ने उद्देश्यले टाइम कार्ड लागू गरिएको हो।
निर्धारित समयअनुसार हेटौँडा–भैँसे २५ मिनेट, भैँसे–भीमफेदी ३० मिनेट, भीमफेदी–कुलेखानी ४० मिनेट र कुलेखानी–फर्पिङ सडकखण्ड पार गर्न ४५ मिनेट तोकिएको छ।
प्रहरीले चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले चालकलाई ट्राफिक नियम पालना गर्न, निर्धारित गतिमा सवारी चलाउन र यात्रुको सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेको छ।






