वीरगंज – सानो पाइला वीरगंजले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । वीरगंज–२१ लिपनीबिर्तास्थित ताजपुरमा सञ्चालित सामुदायिक पुनःस्थापना केन्द्रको परिसरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता कञ्चन झा प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेता झाले दसैँको विशेषता धार्मिक र पौराणिक चिन्तन तथा पूजापाठमा मात्र सीमित नराखी समाजका वास्तविक रावणहरूलाई समेत चिन्नुपर्ने बताएका छन् ।
उनले अहिले निर्वाचनको चर्चा भइरहेको र चाँडै वीरगंजमा स्थानीय तहको निर्वाचन हुने सन्दर्भ उल्लेख गर्दै समाजमा रहेका विकृति, विसङ्गति र जनताको हितविपरीत काम गर्ने प्रवृत्तिलाई पहिचान गरी त्यसविरुद्ध आवाज उठाउने बेला आएको बताए । उनले वीरगंजवासीलाई सचेत रहनसमेत आग्रह गरे ।
केन्द्रका प्रबन्धक भाजु पटेलको अध्यक्षता तथा दिनेश कुमारको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा वीरगंज महानगरपालिका–२८ का वडा अध्यक्ष सरयुग महतो तथा वडा नं. २१ का पूर्ववडा अध्यक्ष हबीब मियाँलगायतको सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रममा भोजपुरिया गायक सुनील पण्डितले सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा परवानीपुर आसपासका काँग्रेस नेता एवं युवाहरुको सहभागिता पनि थियो ।






