वीरगंज , असोज ३१ –
बडादसैँको फूलपाती भित्र्याएपछि वीरगंजस्थित गहवामाई मन्दिरमा खोइँछ भर्न महिलाहरूको घुइँचो लागेको छ। आफ्ना भाकल पूरा भएको खुसीमा तथा परिवारमा सुख, शान्ति र समृद्धिको कामनासहित महिलाहरूले माताको खोइँछ भर्न थालेका हुन्।
खोइँछमा भिजाइएको चना, घिउमा तारिएको पुरी, मिठाई, फलफूललगायतका सामग्री राख्ने परम्परा छ। साथै, महिलाहरूले गहवामाईलाई चुनरी चढाएर पूजाआजा गर्ने गरेका छन्।
धार्मिक आस्थासँग जोडिएको यस परम्परामा महिलाहरूले परिवारको सुख–शान्ति, समृद्धि र मनोकामना पूरा होस् भन्ने कामनासहित माताको पूजा गर्ने गर्छन्। फूलपातीका दिन गहवामाई मन्दिरमा देखिएको महिलाहरूको सहभागिताले दसैँको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई झल्काएको छ।






