काठमाडौं । पत्रकार किशोर श्रेष्ठ झण्डैृ ५ घण्टापछि छुटेका छन् । रास्वपा नेता एवं कमेडियन हिमेश पन्तको उजुरको आधारमा आज बिहान उनलाई घरैबाट पक्राउ गरिएको थियो ।
साइबर ब्युरोमा दुईजनाबीच छलफलपछि मिलापत्र गराएर श्रेष्ठलाई रिहा गरिएको छ । समाचारलाई लिएर उब्जिएको विवाद प्रेस काउन्सिलबाटै निरुपण गर्ने गरी सहमति जुटेको छ ।
दिनभर ब्युरोमा रहेका नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालका अनुसार पन्त समाचारको विषयलाई लिएर प्रेस काउन्सिल जाने र सामाजिक सञ्जालमा श्रेष्ठविरुद्ध केही सामग्री पोष्ट नगर्नेमा सहमत भएका छन् ।
रिहाइपछि पत्रकार श्रेष्ठले समाचारकै विषयलाई लिएर कोही पत्रकारलाई पक्रन र सञ्चार उपकरण जफत गर्न नपाइने यसअघि आफ्नो पक्राउमा सर्वोच्चले आदेश गरिसकेको सन्दर्भमा आज फेरि त्यही नजिर स्थापित भएको बताए ।
पन्त परिवारले अर्काको जग्गा हडपेको भन्दै जनआस्था अनलाइनमा समाचार सम्प्रेषण भएको थियो । सोही विषयमा पन्त साइबर ब्युरो पुगेका थिए । यता आफुविरुद्ध धाराप्रवाह स्टाटस लेखेपछि श्रेष्ठले पनि काउन्टर उजुरी दिएका थिए ।






