बारा , कार्तिक २ –
बाराको महागढीमाई नगरपालिका–१ स्थित हुलाकी राजमार्गको प्लाई फ्याक्ट्री चोकमा भारतीय स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
शनिबार बिहान करिब ११:३० बजे बरियारपुरबाट कलैयातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको BR 19 G 9921 स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००५ प ८८५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–२१ का १७ वर्षीय धिरज यादव गम्भीर घाइते भएका थिए। उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल पुर्याइएका उनको बिहान ११:५५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा सवार सोही स्थानका १६ वर्षीय नगेश साहको दाहिने हात, अनुहार र बायाँ खुट्टामा चोट लागेको छ। यस्तै, १८ वर्षीय अरुण यादवको दायाँ हात र खुट्टामा चोट लागेको छ। दुवै जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम र सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले स्कारपियो र त्यसका चालक रौतहटको परोहा नगरपालिका–३ निवासी करिब ३८ वर्षीय अरुणकुमार दुबेलाई नियन्त्रणमा लिएको छ। उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको छ।
घटनास्थलको मुचुल्का तयार गर्न जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको नेतृत्वमा टोली खटिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






