झापा , कार्तिक ३ –
झापाको बिर्तामोडस्थित शान्ति समूह नेपाल सुधार केन्द्रमा भर्ना भएका इलामका नरबहादुर बस्नेतको शंकास्पद अवस्थामा मृत्यु भएपछि परिवारले केन्द्रका सञ्चालकविरुद्ध प्रहरीमा जाहेरी दिएका छन्।
इलामको फाकफोकथुमका बस्नेतलाई परिवारले मादक पदार्थ सेवनको लत छुटाउने उद्देश्यले असोज २५ गते तीन महिनाका लागि सुधार केन्द्रमा भर्ना गराएका थिए। तर, भर्ना भएको दुई दिनपछि असोज २७ गते उनको मृत्यु भएको परिवारले जनाएको छ।
सुधार केन्द्रका सञ्चालकले बस्नेत बिरामी परेको जानकारी गराएपछि परिवार अस्पताल पुगेको थियो। तर, परिवारका सदस्य पुग्नुअघि नै उनको मृत्यु भइसकेको बताइएको छ। सञ्चालकले उनलाई सुरुमा कञ्चनजङ्घा अस्पताल र त्यसपछि बिर्ता सिटी अस्पताल पुर्याएका थिए।
मृतकका भाइ तारा बस्नेतले दिएको जाहेरीमा सुधार केन्द्रको लापरवाहीका कारण दाजुको मृत्यु भएको हुन सक्ने आशंका व्यक्त गरेका छन्। शव हेर्दा शरीरका विभिन्न भागमा चोटपटक देखिएको उल्लेख गर्दै परिवारले घटनाको निष्पक्ष अनुसन्धान माग गरेको छ।
परिवारले घटनासँग सम्बन्धित भनिएको सीसीटीभी भिडियोसमेत प्रहरीलाई बुझाएको जनाएको छ। सार्वजनिक भएको भनिएको भिडियोमा नरबहादुरलाई कोठाभित्र हातखुट्टा बाँधेर राखिएको र केही व्यक्तिले उनको शरीरमा थिच्ने तथा थप्पड हान्ने गतिविधि गरेको देखिएको बताइएको छ।
यद्यपि, भिडियोमा देखिएका गतिविधिको वास्तविक सन्दर्भ र ती गतिविधि तथा मृत्युबीचको सम्बन्ध पुष्टि हुन बाँकी छ। नरबहादुरको मृत्युको कारण, सुधार केन्द्रको सम्भावित लापरवाही र घटनामा कसैको संलग्नता भए–नभएको विषय अनुसन्धानबाट खुल्नेछ।
जिल्ला प्रहरी कार्यालय झापाले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।







