काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताको संरचना परिवर्तन गरेको छ । आईसीसीले पछिल्ला तीन संस्करणदेखि सञ्चालन हुँदै आएको सुपर सिक्स राउन्ड हटाउने निर्णय गरेको हो ।
आईसीसीको आइतबार बालीमा बसेको बैठकले आगामी वर्ष फेब्रुअरी–मार्चमा हुने विश्वकप छनोटको नयाँ संरचना सार्वजनिक गरेको हो । नयाँ संरचनाअनुसार १० टोलीलाई पाँच–पाँच टोलीका दुई समूहमा विभाजन गरिनेछ ।
समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्ने दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनलका विजेताबीच उपाधिका लागि फाइनल खेल हुनेछ । यसअघि विश्वकप छनोटमा १० टोलीलाई दुई समूहमा विभाजन गरी समूह चरणपछि सुपर सिक्स राउन्ड खेलाइन्थ्यो । उक्त संरचनामा कुल ३४ खेल हुन्थे ।
नयाँ संरचनामा भने सुपर सिक्स हटाइएसँगै खेल संख्या घटेर २३ मा सीमित हुनेछ । सन् २०२७ को एकदिवसीय विश्वकपमा १४ टोलीले प्रतिस्पर्धा गर्नेछन्। नयाँ छनोट संरचनाअनुसार छनोट प्रतियोगिताको विजेता टोलीले विश्वकपमा सिधै स्थान बनाउनेछ ।
छनोटमा दोस्रो, तेस्रो र चौथो हुने टोलीले भने विश्वकपको पहिलो चरणका रूपमा रहने सुपर सिरिजमा प्रतिस्पर्धा गर्नुपर्नेछ । सुपर सिरिजबाट उत्कृष्ट टोलीले मुख्य प्रतियोगितामा स्थान बनाउनेछ । विश्वकप छनोटमा सहभागी हुने १० टोलीमध्ये ६ टोलीको टुंगो लागिसकेको छ ।
वेस्ट इन्डिज र आयरल्यान्डले वरीयताका आधारमा छनोटमा स्थान बनाएका छन् । त्यस्तै, आईसीसी क्रिकेट विश्वकप लिग–२ बाट अमेरिका, नेदरल्यान्ड्स, स्कटल्यान्ड र ओमान छनोट भएका छन् । बाँकी चार टोलीको टुंगो नेपालमा आगामी महिना आयोजना हुने छनोट प्लेअफबाट लाग्नेछ । उक्त प्लेअफमा लिग–२ का पुछारका चार टोली र च्यालेन्ज लिगका चार टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
आईसीसीले सन् २०२८ मा आयोजना हुने पुरुष टी–२० विश्वकपको छनोट प्रक्रिया पनि सार्वजनिक गरेको छ । नयाँ संरचनाअनुसार ग्लोबल छनोटमा १६ टोली सहभागी हुनेछन् । उनीहरूलाई चार टोलीका चार समूहमा विभाजन गरिनेछ । समूह चरणपछि क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलका खेल हुनेछन् ।
यस छनोटबाट आठ टोलीले सन् २०२८ को पुरुष टी–२० विश्वकपमा स्थान बनाउनेछन् । छनोट प्रक्रियाअनुसार सेमिफाइनलमा पुग्ने चारवटै टोलीले विश्वकपमा स्थान सुरक्षित गर्नेछन्। बाँकी चार स्थानका लागि क्षेत्रीय प्रतिनिधित्व र छनोट प्रतियोगिताको प्रदर्शनलाई आधार बनाइनेछ ।
अफ्रिका, अमेरिका, एसिया, पूर्वी एसिया–प्रशान्त र युरोप गरी पाँच क्षेत्रका उत्कृष्ट टोलीलाई पनि छनोटको अवसर दिइनेछ । यदि कुनै क्षेत्रको शीर्ष टोली छनोट प्रतियोगिताको शीर्ष आठभित्र पर्न सफल भएमा उसले स्वतः विश्वकपमा स्थान बनाउनेछ । तर कुनै क्षेत्रको शीर्ष टोली नवौँदेखि १२औँ स्थानमा रहेमा उसले शीर्ष आठमा रहेका तर क्षेत्रीय छनोटबाट स्थान नबनाएका टोलीमध्ये सबैभन्दा कमजोर स्थानमा रहेको टोलीलाई प्रतिस्थापन गर्नेछ ।
बाँकी स्थान क्वार्टरफाइनलमा पराजित भएका टोलीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने टोलीले प्राप्त गर्नेछन् । यसका लागि समूह चरणको प्रदर्शन, अंक, जित र नेट रनरेटलाई आधार बनाइनेछ । तर आ–आफ्नो समूहमा अन्तिम स्थानमा रहने टोली भने पुरुष टी–२० विश्वकपका लागि छनोट हुन योग्य हुने छैनन् ।
आईसीसीले सन् २०२८ मा पाकिस्तानमा आयोजना हुने महिला टी–२० विश्वकपको छनोट प्रक्रिया पनि सार्वजनिक गरेको छ । उक्त प्रतियोगिताका लागि आयोजक पाकिस्तानसहित अष्ट्रेलिया, भारत, दक्षिण अफ्रिका, बंगलादेश, इंग्ल्यान्ड, वेस्ट इन्डिज, न्युजिल्यान्ड, श्रीलंका र आयरल्यान्डले स्वतः स्थान सुरक्षित गरेका छन् । बाँकी दुई स्थानका लागि १० टोलीबिच ग्लोबल छनोट प्रतियोगिता हुनेछ ।
सन् २०२६ को महिला टी–२० विश्वकपमा सहभागी भएका नेदरल्यान्ड्स र स्कटल्यान्डले स्वतः छनोट हुन नसके पनि ग्लोबल छनोटमा सिधै स्थान बनाएका छन् । उनीहरूसँगै सन् २०२७ मा आयोजना हुने पाँच क्षेत्रीय छनोट प्रतियोगिताबाट आएका आठ टोलीले ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन् । ग्लोबल छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने दुई टोलीले सन् २०२८ को महिला टी–२० विश्वकपमा बाँकी दुई स्थान सुरक्षित गर्नेछन्






