छठ पूजादेखि अन्तरक्रियासम्म: कांग्रेस सभापति गगन थापाको व्यस्त वीरगन्ज भ्रमण

1200x150_1200x150-01.jpg (1)

वीरगन्ज, ३० कात्तिक: नेपाली कांग्रेसका सभापति गगन थापा सोमबार बिहानैदेखि वीरगन्जका विभिन्न धार्मिक तथा राजनीतिक कार्यक्रमहरूमा व्यस्त रहेका छन्।

सोमबार बिहान सभापति थापाले पत्नी अञ्जना केसीका साथ वीरगन्ज–१० स्थित घडिअर्वा छठघाटमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठी माताको पूजाअर्चना गरेका छन्। छठघाटमा उनले ब्रतालु महिलाहरूसँगै पूजा गर्नुका साथै उनीहरूबाट टीका लगाएर आशीर्वादसमेत ग्रहण गरे। त्यसअघि थापा दम्पतीले घडिअर्वा छठघाट परिसरमै रहेको सूर्य भगवानको मन्दिरमा पनि पूजाअर्चना गरेका थिए। सो अवसरमा घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साह कानुले सभापति थापालाई दोसल्ला ओढाएर स्वागत तथा सम्मान गरेका थिए।

दिनभरका राजनीतिक तथा सामाजिक भेटघाट

घडिअर्वा पोखरीको छठ पूजापछि सभापति थापा दिनभर विभिन्न कार्यक्रममा सहभागी भएका छन्:

  • चियापान तथा कार्यकर्ता भेटघाट: छठघाटबाट फर्किएपछि थापाले स्थानीय ‘बब्लु टी’ मा चिया पिएपछि नेपाली कांग्रेसको पार्टी कार्यालयमा पुगेर स्थानीय नेता तथा कार्यकर्ताहरूसँग भेटघाट एवं छलफल गरेका छन्।

  • अन्तरक्रिया तथा अवलोकन: त्यसपछि उनी ‘प्रदीप गिरि इन्स्टिच्युट’ मा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भए। सोही क्रममा उनले बेलवास्थित सामुदायिक अस्पताल (सामुदायिक सेवा केन्द्र) को अवस्थाबारे स्थलगत अवलोकनसमेत गरेका छन्।

  • सिमरा हुँदै काठमाडौँ फिर्ती: वीरगन्जका कार्यक्रमहरू सकेर सभापति थापा सिमरामा आयोजित अर्को अन्तरक्रिया कार्यक्रममा सहभागी भई आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ।

आइतबार छठ मनाउन सर्लाही पुगेका सभापति थापा साँझ त्यहाँको छठघाटमा पूजा गरी राति बास बस्न वीरगन्ज आइपुगेका थिए।

छठघाटको पूजाअर्चनाका क्रममा सभापति थापासँगै कांग्रेस सहमहामन्त्री अजय चौरसिया, केन्द्रीय सदस्य अनिल रुंगटा, मधेस प्रदेश सरकारका पूर्वमन्त्रीहरू ओमप्रकाश शर्मा र जनार्दन सिंह क्षेत्री, कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, उपसभापति अशोक गुप्ता, वीरगन्ज महानगर सभापति मणिन्द्रलाल श्रेष्ठ, वीरगन्ज महानगरका उपमेयर इम्तियाज आलम लगायतका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।

यसैगरी, आइतबार प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले पनि वीरगन्जका विभिन्न छठ घाटहरूमा पुगेर पूजाअर्चना गरेका थिए।

भर्खरै

सम्बन्धित पोस्टहरुः