search

राप्रपा तटस्थ बस्दा रामचन्द्रलाई राहत

पढ्न छुटाउनुभयो ?

२५ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि बिहीबार हुने राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ ।

राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बानेश्वरस्थित संसद भवनमा मतदान केन्द्र बनाइएको छ र, भोलि विहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ ।

त्यसको अघिल्लो दिन राप्रपा कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको हो । राष्ट्रपति अभिभावकीय र निष्पक्ष संस्था भएको, तर सक्रिय राजनीतिबाट आएको दुबै उम्मेदवाबाट त्यो भूमिका आश गर्न नसकेको बताउँछन्, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन । ‘दुबै उम्मेदवार सक्रिय राजनीतिमा रहनुभएको र एउटा पार्टीबाट प्रतिनिधिसिभामा निर्वाचित भएकाले अभिभावकीय र निष्पक्ष भूमिका परिकल्पना गर्न सकेनौं’, उनले भने ।

राष्ट्रपति निर्वाचनमा राप्रपा निर्णायक होइन । तर तटस्थ बस्ने निर्णयले कांग्रेस उम्मेदवार पौडेललाई राहत दिएको छ भने एमाले उम्मेदवार नेम्वाङको आशा लगभग सकिएको छ ।

राष्ट्रपति निर्वाचनमा संघीय र प्रदेश सांसद मतदाता हुन्छन् । संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ छ । सबै उम्म्ेदवारको मतभार जोड्दा ५२ हजार ७८६ हुन्छ र राष्ट्रपति निर्वाचित हुन बहुमत अर्थात २६ हजार ३९४ मतभार चाहिन्छ ।

कांग्रेस उम्मेदवार पौडेललाई अरु ७ दलको समर्थन छ । माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाको समर्थन छ । समर्थक दलहरुसँग भएका सबै सांसदको मत पाउने हो भने पौडेलको पक्षमा बहुमत देखिन्छ ।

नेम्वाङलाई उम्मेदवार बनाएको एमालेसँग १५ हजार २८१ मतभार छ । तर एमाले नेताहरुले कांग्रेसबाहेक सबै दलका शीर्ष नेताहरुलाई भेटेर नेम्वाङलाई समर्थन गर्न आग्रह गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले समर्थन गरे पौडेललाई समर्थन गरेका दलबाट भोट क्रस गराएर प्रतिस्पर्धा निकट गराउने एमालेको चाहना थियो ।

८ दलका नेताहरु पनि भोट क्रस हुने त्रासमा थिए । गठबन्धनका दलहरुले सांसदहरुलाई भेला गरेर अभिमुखीकरण कार्यक्रम नै गरेका थिए । तर तटस्थ बस्ने राप्रपाको निर्णपछि पौडेललाई राहत भएको छ भने एमाले नेताहरुले आश मारेका छन् । एक नेता भन्छन्, ‘यो निर्णयपछि हाम्रो उम्मेदवारको अनुकल परिणाम आउने सम्भावना सकियो भन्दा हुन्छ ।’

किन तटस्थ बस्यो राप्रपा ?

उम्मेदवारी दर्ताको अघिल्लो दिन १२ फागुनमा बसेको कार्यसम्पादन समितिको बैठकमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताहरुले संवैधानिक राजतन्त्रलाई मुद्दा बनाएको पार्टीले राष्ट्रपतिमा मत दिन नमिल्ने बताएका थिए । तर बैटकले राष्ट्रपतिका कुनै उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय मात्र ग¥यो ।

बुधबार भने एकमतले तटस्थ बस्र्ने निर्णय गर्यो । बैठकमा लिङ्देनले कुनै प्रस्ताव राखेनन् । सबैको धारणा सुने, तटस्थ बस्ने निर्णय गराए । अप्ठेरो अवस्थामा यसरी नै उम्किने उनको शैली छ । ‘अघिल्लो बैठकको परिवेश फरक थियो’, एक पदाधिकारी भन्छन्, ‘आज सर्वसम्मत रुपमा तटस्थ बस्ने निर्णय भएको हो । यो पार्टीको हितमा छ ।’

राप्रपाका नेताहरुका अनुसार पछिल्लो समय राप्रपा एमालेको सहयोगी पार्टी हो भन्ने धारणा बन्दै गएको थियो र, पार्टीका अनौपचारिक छलफलहरुमा त्यो व्यक्त भएका थिए ।

हुन पनि २०७० को चुनावमा पार्टीले कांग्रेससँग सहकार्य गर्दा पनि लिङ्देनले झापामा एमालेसँग सहकार्य गरेका थिए । यो चुनावमा पनि एमाले र राप्रपाबीच केही जिल्लामा तालमेल भएको थियो भने प्रचण्ड सरकारमा राप्रपाको सहभागितामा पनि ओलीको भूमिका थियो । त्यसैले राष्ट्रपति निर्वाचनमा राप्रपा एमालेसँग उभिने अनुमान थियो, एमाले नेताहरुले पनि राप्रपाको साथ पाउने आश गरेका थिए ।

तर तटस्थ बस्ने निर्णयले राप्रपा सधैं एमालेको पक्षमा उभिन्छ भन्ने धारणालाई खण्डन मात्र गरेको छैन, भोलिका लागि नेपाली कांग्रेससँग सहकार्य गर्ने बाटो पनि खुला राखेको एक पदाधिकारी बताउँछन् । ‘हठात बनेको यो समीकरण कति दिन जान्छ भन्न सकिन्न’, ती पदाधिकारी भन्छन्, ‘त्यसैले भोलिका लागि पनि बाटो खुला राखेका हौं ।’

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads