search

spot_img
spot_img

‘खेलकुद क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखिने’

पढ्न छुटाउनुभयो ?

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले युवाको आकर्षण बढ्दै गएको खेलकुद क्षेत्रको विकासलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथि उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै मन्त्री श्रेष्ठले खेलकुदको माध्यमबाट स्वस्थ र अनुशासित नागरिक तयार गरी राष्ट्रिय एकता र राष्ट्रिय गौरव बढाउन मन्त्रालयले प्राथमिकता दिएको बताउनुभयो । उहाँले युवाको आकर्षण बढ्दै गएको खेल क्षेत्रको संरक्षण र विकास गरी राष्ट्र निर्माणमा सहभागी गराउन प्रयासरत रहेको उल्लेख गर्नुभयो ।

खेलकुद मन्त्री श्रेष्ठले सीमित स्रोतसाधनका बाबजुद पनि खेलकुद क्षेत्रको समग्र सुधारका लागि लागिपरेको बताउनुभयो । युवामा विकराल बन्दै गइरहेको लागूऔषको समस्या समाधान गर्न र उनीहरुलाई राष्ट्रनिर्माणमा प्रोत्साहन गर्न मन्त्रालयले नमूना युवा कार्यक्रम अगाडि बढाएको बताउनुभयो ।

मन्त्री श्रेष्ठले खेलकुद पूर्वाधार विकासका लागि मूलपानी क्रिकेट रङ्गशाला निर्माण, कीर्तिपुरको क्रिकेट मैदानमा ‘फ्लड लाइट’ जडान, खेलाडी फिटनेस हल तथा सामग्री व्यवस्था, हाइअल्टिच्यूट ट्रेनिङ सेन्टर र खेलकुद तालिम केन्द्र स्थापना कार्यलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । युवालाई लागूऔष र कुलतबाट जोगाउन ‘आफ्नो माटो चिनौ’जस्ता युवा लक्षित कार्यक्रम अनुसन्धानका आधारमा ल्याइएको उहाँको भनाइ छ ।

मन्त्री श्रेष्ठले यो पटक पूर्वाधारमा भन्दा कार्यक्रममा बजेट बढी खर्च गर्नुपर्ने बाध्यता रहेको स्पष्ट पार्नुभयो । उहाँले राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रु ६० करोड बजेट विनियोजन भएको तथा मूलपानी क्रिकेट रङ्गशालाका लागि रु ५० करोड रकम व्यवस्था गरिएको जानकारी दिनुभयो ।

खेलकुद सङ्गठनलाई सृजनशील कार्यमा प्रेरित गर्नुपर्ने, यस क्षेत्रमा रहेका शासकीय बेथितिलाई सुधार्न सबै सक्रिय भएर लाग्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिनुभयो । खेलकुद ऐन संशोधनको क्रममा रहेको भन्दै उहाँले सातै प्रदेशबाट राय सुझाव लिएर असारभित्रै कानुन मन्त्रालयमा ऐनको मस्यौदा पठाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

मन्त्री श्रेष्ठले मदिरा, सुर्ती र लागूऔषध दुर्व्यसनी जस्ता कुलतबाट युवा जोगाउँदै उनीहरूमा सकारात्मक सोचको विकास गर्ने र युवाको भविष्यको लक्ष्य प्राप्तिका लागि उपयुक्त मार्गदर्शन गराउने उद्देश्यले राष्ट्रिय युवा परिषद्मार्फत युवा परामर्श तथा मार्गदर्शन कार्यक्रम ल्याइएको जानकारी दिनुभयो ।

युवा प्रतिभा पलायन हुने प्रवृत्तिलाई रोक्न सबै प्रदेशमा ‘ह्वाई नेपाल क्याम्पेन’ सञ्चालन गरी सामाजिक सञ्जालमार्फत सकारात्मक सन्देशमूलक सामग्री प्रसारण गर्ने योजना रहेको उहाँको भनाइ छ । उहाँका अनुसार युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा रहेको रु तीन अर्ब ८० करोड रकम हाल कर्जा लगानी गरिएको छ ।

“आगामी आवमा नियमित किस्ता रकम अनुमानित रु एक अर्ब ८० करोड फिर्ता हुने देखिन्छ । उक्त रकमबाट आगामी आवमा थप १० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य रहेको छ”, मन्त्री श्रेष्ठले भन्नुभयो ।

स्थानीय स्तरबाटै खेलकुदका तालिम प्रदान गर्न खेलकुदका प्रशिक्षक खटाइएको मन्त्री श्रेष्ठले बताउनुभयो । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन ‘मिसन, २०२६’, ‘छैटौँ एसियन इन्डो मार्सल आर्ट, २०२४’ र ‘पेरिस ओलम्पिक, २०२४’ लगायत बृहत् खेलकुदको तयारीका लागि राष्ट्रियस्तरमा १० वटा खेलका दुई सयभन्दा बढी खेलाडीलाई विशेष प्रशिक्षण सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।

युवा तथा खेलकुद मन्त्री श्रेष्ठले गणेशमान सिंह बक्सिङ प्रतियोगितामा बक्सिङ खेलको मात्र प्रतियोगिता सञ्चालन हुने, मदन भण्डारी स्पोर्टस एकेडेमीबाट महिला र पुरुषका लागि बक्सिङ, भलिबल हक्की, एथ्लेटिक्स, तेक्वान्दो, कराते, व्याडमिन्डन, बास्केटबललगायत कम्तीमा १६ विधाका प्रतियोगिता आयोजना गर्ने भएकाले बढी रकम विनियोजन भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको छनोट सम्बन्धित खेल सङ्घको प्रशिक्षक, निर्णायक र सङ्घको पदाधिकारीसहितको छनोट समितिबाट निश्चित मापदण्ड, सिद्धान्त र प्रक्रियाबाट हुने भएकाले उक्त प्रक्रिया पारदर्शी बनाइएको छ ।

खेलकुदमन्त्री श्रेष्ठले खेलकुदका माध्यमबाट पर्यटनको विकास र विस्तार गर्न ११ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न बजेट विनियोजन गरिएको बताउनुभयो । जुम्लाको पातारासीमा स्वदेशी तथा विदेशी खेलाडीलाई तालिममा आकर्षक गर्न हाइअल्टिच्यूट ट्रेनिङ सेन्टर निर्माण गर्न रु चार करोड विनियोजन गरिएको छ । साथै दोलखाको सैलुङमा तेक्वान्दो खेलको हाइअल्टिच्यूट ट्रेनिङ कभर्डहल निर्माणका लागि रु दुई करोड विनियोजन भएको जानकारी दिनुभयो ।

मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएअनुसार रु चार करोड ३५ लाख बजेट विनियोजन गरिएको बताउँदै आगामी वर्षदेखि पदक जितेर आउने बित्तिकै खेलाडीलाई बैङ्क खातामा पुरस्कारको रकम उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार ओलम्पिकमा सहभागी, एसियन खेलमा पदक विजेता, साग खेलकुदमा स्वर्ण पदक विजेता खेलाडी तीन सय ५७ जनालाई मासिक रु छ हजारका दरले मासिक भत्ता प्रदान गर्न रु दुई करोड ३५ लाख व्यवस्था गरिएको छ ।

खेलकुदमन्त्री श्रेष्ठले विद्यालय स्तरमा खेलकुदको विकासका लागि प्रत्येक विद्यालयमा छुट्टै खेलकुद शिक्षक राख्ने प्रक्रिया अगाडि बढाइएको जनाउँदै यो प्रक्रिया पूरा हुन समय लाग्ने भएकाले हाललाई विद्यालयमा अध्यापनरत चार सय शिक्षकलाई १५ दिने खेलकुदको सीप विकास तालिम प्रदान गर्न रु एक करोड ४० लाख विनियोजन गरिएको उल्लेख गर्नुभयो । उहाँले खेलकुद विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययन भइसकेकाले स्रोतको व्यवस्था हुनासाथ स्थापना कार्य अघि बढाइने जानकारी दिनुभयो ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads