राधेश्याम पटेल,वीरगंज, १९ मंसिर ।
क्वेयर समुदायसँग ‘परिवार नियोजन‘ का अस्थायी साधन कन्डमको चरम अभाव रहेको कुरा बाहिरिएको छ । क्वेयर समुदाय भन्नाले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई जनाउँछ । एचआइभी सङ्क्रमणबाट बच्नका लागि कन्डम प्रयोगमा जोड दिनुपर्ने स्वास्थ्य संस्थाहरूले जनचेतना जगाउने अभियान नै जारी राखेका छन् । तर राज्यले कन्डम आपूर्तिमा ध्यान नदिंदा सरोकारवालाहरूलाई समस्या भइरहेको देखिन्छ ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको क्षेत्र काम गर्ने वीरगंजको सहयात्री समाज नेपाल, पर्साका संयोजक सुरज लिम्बूले संस्थाबाट मात्रै दैनिक करीब डेढ हजार थान कन्डमको माग हुने गरेको बताएका छन् । उनले आपूर्ति अभावले अहिलेसम्म सो माग पूरा नभएको गुनासो गरे । उनले अहिलेसम्म दैनिक एक हजार कन्डम प्राप्त भएको र यसले माग धान्नै गा¥हो भइरहेको बताए । उनले क्वेयर समुदायमध्ये पर्साका ग्रामीण क्षेत्रमा बढी माग रहेको बताए । कहिलेकाहीं क्वेयर समुदायले बोरा भरेर कन्डम लैजाने गरेको लिम्बूले बताए ।
गाउँघरमा हुने बिहेवारीलगायतका कार्यक्रममा तेस्रोलिङ्गी सहभागी हुने सात सहेलियाको नाँच पर्सामा प्रख्यात रहेको र यस्तो कार्यक्रमका लागि उनीहरूबाट कन्डमको माग बढी हुने गरेको लिम्बू बताउँछन् । सहयात्री समाजले कन्डम निश्शुल्क उपलब्ध गराउने हुँदा क्वेयर समुदायबाहेक आवश्यक पर्नेहरूले पनि लैजाने गरेको लिम्बूले बताए । उनले यसबारेमा सरोकारवाला निकायमा कन्डमको सहज उपलब्धताका लागि आग्रह गरिएको तर अहिलेसम्म प्राप्त नभएको बताए । निश्शुल्क पाइने कन्डमको अभावसँगै बजारमा खरीद हुने कन्डमको पनि अभाव भएको पाइएको छ । घण्टाघरका एकजना औषधिपसलेले कन्डमको अभाव रहेको बताए । उनले विदेशी कन्डमको माग आफ्नो पसलमा बढी हुने गरेको र हाल कन्डमको अभाव भएको बताए ।
क्वेयर समुदायका सय बढी यौनकर्मी सहयात्री समाजमा आबद्ध क्वेयर समुदायका सयजनाभन्दा बढी यौनकर्मी वीरगंजमा मात्र सक्रिय छन् । अन्य पेशामा उनीहरूले रोजगार नपाउने गरेकाले उनीहरूको मुख्य पेशा नै यौनकर्म हो । अन्य पेशामा यो समुदायलाई अत्यधिक विभेद, हेला, अपहेलना गरिने हुँदा रोजगारबाट वञ्चित रहँदा पेट पाल्नका लागि उनीहरूसँग यौनकार्यमा संलग्न हुनुको विकल्प नभएको सहयात्री समाजका लिम्बू बताउँछन । शहरी र ग्रामीण क्षेत्रमा यौनकर्मीहरूको बढ्दो सङ्ख्याले कन्डमको माग बढेर अभाव भएको उनको बुझाइ छ ।
यूएनडिपीले निशुल्करुपमा वितरण गर्ने गर्ने कन्डम खरिद गरी नेपाल सरकारलाई दिने गर्छ । नेपाल सरकारको स्वास्थ्य मन्त्रालय मातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उक्त कन्डम सहयात्री समाज वीरगंजलाई पठाउने गर्छ । तर मागको तुलनामा कम कन्डम पठाउने भएकोले समस्या भइरहेको हो ।