परवानीपुर, २९ माघ/
बारा, परवानीपुर गाउँपालिका–४ चैनपुरमा आयोजित चैनपुर प्रिमियर लिग (सिपिएल)को सेमिफाइनलमा चारवटा टीम अङ्कतालिकाको आधारमा छनोट भएका छन्।
लिग चरणको मङ्गलवार अन्तिम खेलमा बिर्ता राइडरले चैनपुर इगललाई पराजित गर्दै सेमिफाइनलमा चौथो टीमको रूपमा स्थान पक्का गरेको हो। टस हारी ब्याटिङ गरेको चैनपुरले निर्धारित १६ ओभर खेल्दै सात विकेटको क्षतिमा १११ रन बनाएको थियो भने ११२ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको बिर्ता राइडरले १४ ओभरमा तीन विकेटको क्ष्Fतिमा ११२ रन बनाएर खेल जितेको हो।
उक्त खेलको ‘म्यान अफ द म्याच’ बिर्ता राइडरका असरफ अलि घोषित भए। उनले ४७ रनको योगदान गरेका थिए।
यस अघि रामपुर वारियर र रोयाल च्यालेन्जर चैनपुर र चैनपुर इगल अङ्कतालिकाको आधारमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। फागुन १ गते यी चारवटा टीमबीच दुईवटा सेमिफाइनल र फागुन ३ गते फाइनल खेल हुने आयोजकले जनाएको छ। सेमिफाइनलमा रामपुर वारियरविरुद्ध रोयल च्यालेन्जर चैनपुर र चैनपुर इगलविरुद्ध बिर्ता राइडरबीच प्रतिस्पर्धा हुनेछ।