कलैया,३ जेठ ।
लायन्स क्लब अफ कलैयाको पहलमा बारा जिल्ला प्रहरी कार्यालय परिसरभित्र निर्माण गरिएको नयाँ बंदी गृह कक्ष तथा शौचालय रंगरोगनसहित पुनर्निर्माण गरिएको संरचना एक विशेष समारोहबीच हस्तान्तरण गरिएको छ । लायन्स क्लबका अध्यक्ष प्रदीप कुमार साहको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा बारा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सुरेश तामाङले पुनर्निर्मित कक्ष तथा शौचालय ग्रहण गरे । एसपी तामाङले क्लबको यो प्रयासलाई प्रशंसनीय भन्दै प्रहरी प्रशासन र नागरिक समाजबीचको सहयोगले सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । प्रायः एक लाख रुपैयाँभन्दा बढीको लागतमा सम्पन्न भएको स परियोजनाले प्रहरी कार्यालयको भौतिक पूर्वाधारलाई थप मजबुत बनाउनुका साथै बन्दीहरूको आधारभूत आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्य राखेको क्लबका पदाधिकारीहरूले जनाए ।
कार्यक्रममा क्लबका नव निर्वाचित अध्यक्ष सूर्यजीत सिंह, सचिव मुकेश गुप्ता, बृजकिशोर साह कलवार, दिलीप चौधरी, राजकुमार साह, लोकेन्द्र जायसवाल, श्याम खेतान, मनोज पोद्दार, इन्द्रजीत कुशवाहा, सुभाष जायसवाल, राजेश भण्डारी लगायत दर्जनौं लायन्स सदस्य, समाजसेवी, पत्रकार तथा विकासप्रेमीहरू उपस्थित थिए।कार्यक्रमको विशेषता भनेको सहभागी सबै लायन्स सदस्यहरू लायन जैकेटमा सजिएर उपस्थित भएका थिए, जसले समारोहलाई लायन–मय वातावरणमा परिणत गरिदिएको थियो।लायन्स क्लब अफ कलैयाले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको छ। प्रहरी प्रशासनसँग सहकार्य गरेर गरिएको यस किसिमको पहलले समाजमा नागरिक उत्तरदायित्व र सामूहिक प्रयासको उदाहरण प्रस्तुत गरेको आयोजकहरूले बताएका छन्।