वीरगंज,२८ जेठ /
सशस्त्र प्रहरी बल, नेपाल प्राविधिक सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाको आधारमा करिब १३ लाख ७१ हजार ९८० रुपैयाँ बराबरको अवैध रूपमा ल्याइएका वस्तुहरू नियन्त्रणमा लिई वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।
वीरगञ्ज महानगरपालिका–१० स्थित बजरंगटोलको सुधा कुञ्ज लेखिएको तीन तले पक्की घरको ग्राउण्ड फ्लोरमा धिरज रौनियारले भाडामा लिई भन्सार छली भारतबाट चोरी पैठारी गरिएका विभिन्न कपडाहरू भण्डारण गरेको अवस्थामा भेटिएको हो। उक्त सामानको मूल्य रु. ७,७०,५०० रुपैयाँ बराबर रहेको छ। साथै घटनास्थलबाट भारतीय नम्बर प्लेट (BR-05U4-530) को मोटरसाइकल पनि फेला परेको छ, जसको अनुमानित मूल्य रु. १ लाख ५० हजार रहेको छ।
त्यस्तै, सोही दिन सशस्त्र प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१० र १६ स्थित विभिन्न सीमावर्ती नाकाबाट रु. २लाख ४८ हजार १ सय बराबरको अन्य कपडा र मसला सामग्री समेत बरामद गरेको छ।
यसबाहेक, सशस्त्र प्रहरी बल गुल्म अलौबाट खटिएको अर्को टोलीले बिन्दवासिनी गाउँपालिका–५ स्थित प्रसौनीबाट BR 22 T 1432 नम्बरको मोटरसाइकलमा लोड गरी ल्याइँदै गरेको रु. २३,३८० बराबरको किराना सामान बरामद गरेको छ। सो मोटरसाइकलको मूल्य रु. १लाख ८० हजारको अनुमान गरिएको छ।
सबै सामान र सवारीसाधनहरू आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी गराएका छन्।