वीरगंज, ८ असार ।
वर्षातको मौसम शुरु हुन लागेको छ । वीरगंजमा डुबानको जोखिम उतिकै छ । तर विगत लामो समयदेखि मुख्य नाला अतिक्रमण मुक्त गर्ने काममा ढिलाई भइरहेको नगरवासीले महसुस गरेका छन् ।
आर्दशनगर ग्रिनसिटी प्रहरी बिटदेखि हरिखेतान बहुमुखी क्याम्पसको मुल गेट सम्म पुरानो नालाको दाया बाया अतिक्रमणमुक्त नहदाँ वीरगंजको बजारको मुख्य नाला थुनिदा वीरगंज डुबानको चपेटामा फसेको हो । गीता मन्दिरदेखि प्रहरी बिट सम्म यसअघि वीरगंज महानगरको सरसफाई टोलीले नाला अतिक्रमणमुक्त र सफा गरिसकेको छ । वाणिज्य बैंक आदर्शनगरको पछाडी सम्म पनि नाला र सरकारी नालाको जग्गा अतिक्रमण मुक्त भइसकेको छ ।
तर सो भन्दा दक्षिण तर्फ केडिया घारनाको जग्गा र खेतान घारानाको बर्चश्व रहेको हरिखेतान क्याम्पसले लुकाएर राखेको वास्तविक नालाको बहाव खुल्न नसक्दा पुरानो नालाबाट पानी बग्न नसकेको हो । यसअघि केडिया र हरिखेतानको पर्खालमा महानगरको टोलीले नापजाँच गरी पर्खालमा चिनो लगाइसकेको थियो । तर पनि सम्बन्धित अतिक्रमणकारीहरुले जग्गा खाली नगर्दा ढिलाई भइसकेको कर्मचारीहरुले बताएका छन् । तर कुनै पनि हालतमा नालाको अतिक्रमण खाली गराएर नै छोडने महानगरको टोली लागि परेको बताइन्छ ।
यसै विषयमा ग्रीनसिटीका अध्यक्ष जयप्रकाश खेतानले एक साता भित्रै अब मुख्य नाला अतिक्रमणमुक्त भई सफाई समेत भईहाल्ने बताए । उनले जिल्ला हुलाका कार्यालयबाट शुरु भएको नाला रेल्वे स्कूल र जिल्ला प्रशासन कार्यालय हुदै गितामन्दिर हुदै चिल्ड्रेन पार्क हुदै रक्सौल नजिकै श्रीसिया नदिमा पानी खस्ने गरेको छ ।
वीरगंजको मुख्य शहरी क्षेत्रको सहायक नाला पनि सोही नालामा जोडिएकोले उक्त नाला अतिक्रमणमुक्त र चालू रहनु पर्ने बाध्यता छ । अध्यक्ष खेतानले हरिखेतान र केडिया परिवारले आफनो जग्गामा पर्खाल उठाउने र मरम्त गर्ने काम गरिरहेकोले सो काम सकेर सरकारी जग्गा छोडने सहमत भएको समेत जानकारी गराए ।