राधेश्याम पटेल, वीरगंज, २३ असार।
बारा,कलैया-१४ स्थित बघवन गाउँमा नन्दु राउत कुर्मीको हत्या मुद्दामा पाँचजनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश भएको छ ।
बारा जिल्ला अदालतको एक नम्बर इजलास अर्थात मुख्य जिल्ला न्यायधीश कोमलप्रसाद आचार्यको इजलासले यस्तो आदेश गरेको हो ।
मृतक कुर्मीलाई बारा जिल्ला, कलैया उपमहानगरपालिका–१४ बघवन बस्ने छिमेकी उमेशप्रसाद जयसवाललगायतले कुटपिट गरी हत्या गरेको थियो ।
सामूहिक कुटपिट गरी हत्या गरिएको घटनामा मृतकका छोरा दीपेन्द्र पटेलले उमेश प्रसाद जयसवाल, निजकी पत्नी, सोही स्थानका दिगम्बर साह कलवार र मुख्य अभियुक्त उमेशका तीनजना छोरालाई आरोपित बनाउंदै जिल्ला प्रहरी कार्यालय, बारामा जाहेरी दिएकोमा सरकारी वकिलको कार्यालय, बाराले प्रहरीको मिसिल अध्ययन गर्दै अनुसन्धान पछि पाँचजना माथि कर्तव्य ज्यान सम्बन्धी कसुरमा यही असार २० गते अदालतमा अभियोजन पत्र दर्ता गरेको थियो ।
सोही मुद्दामा आज थुनछेक बहस को क्रममा पक्राउ परेका ५ जनालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको बारा जिल्ला अदालतले जनाएको छ ।
यो मुद्दामा मृतकको तर्फबाट सरकारी वकिलको कार्यालयबाट सहायक जिल्ला न्याधिवक्ता खडगबहादुर बस्नेत र अधिवक्ता जितेन्द्रप्रसाद कुर्मीले बहस गरेका थिए भने आरोपितहरुका तर्फबाट अधिवक्ता सुमनप्रसाद साहले बहस पैरबी गरेका थिए ।
पुरानै रिसइबीको कारण उमेशसहितको आरोपितहरुले गत जेठ २९ गते साँझ ७ बजे कुर्मी बघवन चोकमा राइस मिलमा काम गरिरहेको अवस्थामा कुटपिट गर्दै बेहोस बनाएका थिए । त्यसपछि उनलाई उपचारको क्रममा कलैया प्रादेशिक अस्पताल ल्याउंदा चिकित्सकले उनलाई मृत घोषित गरे । शवको शल्य परीक्षण कलैया, वीरगंजको नारायणी अस्पतालमा सम्भव नभएपछि विधि विज्ञान प्रयोगशाला त्रिवि शिक्षण अस्पताल काठमाडौंमा गरिएको थियो । मृतकको शवलाई घटनाको दुई दिनपछि स्व. कुर्मीको अन्त्येष्टि भएको थियो ।