जनकपुरधाम, ५ साउन । जनकपुरधाममा विवाहेत्तर सम्बन्धको कारण हत्या भएको घटनामा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको बनौटा घर भई जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित डेरा गरी बस्ने २१ वर्षीया जुली झा रहेको प्रहरीले जनाएका छन् ।
सोमवार जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले युवतीलाई सार्वजनिक गरेको हो । शनिवार राति करिब साढे ३ बजेको समयमा महोत्तरीको पर्सा गाउँँपालिका १, पर्सा टोल बस्ने ३२ वर्षीय विमलेश यादवको जनकपुरधाम स्थित जीरोमाईलमा रहेको होटेलमा मृत फेला परेका थिए ।
धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मीले दुबैजना सम्बन्धमा रहेको समयमा भएको विषयमा विवाद हुँदा युवतीले युवकको हत्या गरेको देखिएको बताएका छन। विवाहित युवक यादव र आरोपित झाबीच अबैध सम्बन्ध रहेको प्रहरीले जानकारी दिएको छ। उक्त सम्बन्धको क्रममा बनाएको भिडियो देखाएर युवकले युवतीलाई ब्लाकमेल गर्दै आएका थिए ।
शनिवार राति करिब १० बजेको समयमा जीरोमाईलस्थित रहेको होटेल एसपी एण्ड गेष्ट हाउसको १०२ नम्बर कोठामा दुबैजना सँगै बसेका थिए । राति २ बजेर ५७ मिनेटमा युवक रगतले भरिएको अवस्थामा पहिलो तल्लाबाट नग्न अवस्थामा झरेका थिए । ३ बजेर ४ मिनेटमा युवती भागेको सिसिटीभी फुटेजमा देखिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बरूणबहादुर सिंहले बताए । युवतीलाई आइतवार दिउँसो १२ बजे महोत्तरीको परौलतर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको सिंहले बताए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Facebook Comments Box