वीरगंज , २ माघ –
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बलरा नगरपालिकाका प्रमुख रामाशङ्करप्रसाद कुशवाहासहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बुधबार विशेष अदालतमा दायर गरिएको मुद्दामा नगरप्रमुख कुशवाहासँगै प्रमुख प्रशासकीय अधिकृत सुशीलकुमार साह, लेखापाल राजकुमार महतो, तत्कालीन योजना शाखा प्रमुख उदयकुमार साह, वडा नम्बर ५ का अध्यक्ष मनोजमोहनकुमार सिंह तथा रौतहटस्थित शान्ति विकास कल्याण केन्द्रका अध्यक्ष सविन्द्रनारायण साह, सदस्य उमेशकुमार पासवान र जाजुल मियाँ कवारी अभियुक्त छन्।
अख्तियारको आरोपअनुसार नगरस्तरीय कार्यक्रमअन्तर्गत किशोरीहरूका लागि खेलौना बनाउने तालिम सञ्चालन गर्ने सम्झौता भए पनि तालिम नै सञ्चालन नगरी झूटा तथा नक्कली बिल–भरपाई र कागजात तयार पारेर भुक्तानी गरिएको थियो।
उक्त प्रकरणमा संलग्न सबै अभियुक्तविरुद्ध जनही तीन लाख ८२ हजार ५३ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा आरोपपत्र दर्ता गरिएको अख्तियारले जनाएको छ।














