वीरगंज , २ माघ –
आसन्न प्रतिनिधि सभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ का लागि उम्मेदवार छनोट जसपा नेपालका लागि चुनौतीपूर्ण बन्दै गएको छ। पार्टी प्रवेश गरेका निवर्तमान सांसद प्रदीप यादवको नाम जिल्लाबाट सिफारिस नहुँदा आन्तरिक विवाद चर्किने संकेत देखिएको हो।
जसपा नेपालको पर्सा जिल्ला कार्यसमितिले पर्सा–१ बाट पूर्वमुख्यमन्त्री लालबाबु राउत, जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव र मधेस प्रदेश अध्यक्ष बालकिशोर प्रसाद यादवलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ। तर यसअघि सोही क्षेत्रबाट निर्वाचित पूर्वमन्त्री प्रदीप यादवको नाम सिफारिस सूचीमा समावेश गरिएको छैन।
०७९ को निर्वाचनमा विजयी भएका यादव पार्टी विभाजनका बेला अशोक राई नेतृत्वको जसपामा रहेका थिए। हालै पार्टी एकीकरणपछि उनी पुनः जसपा नेपालमा प्रवेश गरेका छन्। यादवले भने केन्द्रले उम्मेदवार टुंगो लगाउने दाबी गर्दै आफू नै पर्सा–१ को उम्मेदवार बन्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार पार्टी एकीकरणपछि उम्मेदवार चयनको अधिकार केन्द्रीय समन्वय समितिमा रहेको छ।
यादवले जिल्लाको सिफारिस मात्रै अन्तिम आधार नहुने जिकिर गर्दै अघिल्ला निर्वाचनमा आफूले जित्दै आएको कारण पार्टीले आफूलाई पन्छाउन नसक्ने बताए। उम्मेदवारीका लागि प्रतिस्पर्धा हुनु स्वाभाविक भएको उल्लेख गर्दै उनले आन्तरिक विवाद समाधान गरी पार्टी एकताबद्ध भएर चुनावमा जाने दाबी गरेका छन्।
तर पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव भने जिल्लाबाट सिफारिस गरिएका तीनमध्येबाटै उम्मेदवार चयन हुनुपर्ने अडानमा छन्। उनले पार्टी एकताको औपचारिक जानकारीसमेत जिल्लामा नआएको दाबी गर्दै केन्द्रले जिल्लाको सिफारिसभन्दा बाहिर गएमा त्यसको प्रतिवाद गरिने चेतावनी दिएका छन्।
यसरी पर्सा–१ मा उम्मेदवार छनोटलाई लिएर जसपा नेपालभित्र मतभेद देखिँदा अन्तिम निर्णय केन्द्रीय नेतृत्वका लागि निर्णायक बन्ने देखिएको छ।














