वीरगंज , २ माघ –
पर्सामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटाइने निर्वाचन प्रहरीमा मागभन्दा दोब्बरभन्दा बढी आवेदन परेका छन्।
निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति पर्साले नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फ गरी कुल दुई हजार ८५२ जनाको आवेदन माग गरेकामा ठूलो संख्यामा युवाको आकर्षण देखिएको हो। नेपाल प्रहरीतर्फ मात्र पाँच हजार ३९९ जनाले आवेदन दिएका छन्। सशस्त्र प्रहरीतर्फ ३८५ जनाको माग गरिएकामा माघ १ गतेसम्म ५२१ जनाले आवेदन दिएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार पहिलो पटक आवेदन दिने पुरुष तीन हजार १४७ र महिला ६०३ जना छन्। यसैगरी, विगतमा म्यादी प्रहरीको रूपमा काम गरेका ६८७ पुरुष र १५३ महिला तथा पूर्वसुरक्षाकर्मी १२ पुरुष र एक जना विदेशी सैनिकबाट अवकाश प्राप्त व्यक्ति पनि आवेदक छन्।
सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी मोहन निरौलाले निर्वाचन प्रहरीमा युवादेखि अन्य उमेर समूहसम्मको उल्लेखनीय सहभागिता रहेको बताए। सशस्त्र प्रहरीतर्फ आवेदन दिने म्याद माघ ३ गतेसम्म तोकिएको छ।
यसैबीच, रौतहट जिल्लामा पनि निर्वाचन प्रहरीका लागि उल्लेखनीय आवेदन परेको छ। त्यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फ गरी कुल छ हजार ७३६ जनाले आवेदन दिएका छन्, जसमा पाँच हजार ३४८ पुरुष र ९३६ महिला रहेका छन्।














