वीरगंज, ९ माघ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणमा २५औं रजत जयन्ती समारोह सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंहले सशस्त्र प्रहरी बलले देशको सीमा सुरक्षा, विपद् व्यवस्थापन तथा राष्ट्रसेवामा पुर्याउँदै आएको योगदानको प्रशंसा गरे । उनले नागरिकको भरोसा जित्न सशस्त्र प्रहरी सफल भएको बताए । सशस्त्र प्रहरी बल र स्थानीय तहबीच सहकार्य अझ सुदृढ हुनुपर्नेमा उनको जोड थियो ।
सशस्त्र प्रहरी बल न. १३ गणका प्रमुख गणपति पुरण चन्द भट्टको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहाल, वीउवासंघका अध्यक्ष हरि गौतम, सशस्त्र प्रहरी बलका लोकेन्द्र कार्की लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गणपति पुरण चन्द भट्टले सशस्त्र प्रहरी बलको २५ वर्षे यात्रामा भोग्नुपरेका चुनौती र प्राप्त उपलब्धिवारे प्रकाश पार्दै भविष्यमा अझ व्यावसायिक, अनुशासित र जनमुखी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रसेवामा समर्पित जुनियरदेखि सिनियर तहसम्मका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी तथा वीर सहीद प्रहरीहरूको योगदानको स्मरण गरिएको थियो ।
यसैगरी सशस्त्र प्रहरी बल नेपालको २५औं स्थापना दिवसको अवसरमा कलैया उपमहानगरपालिका –१६ स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गणको परिसरमा विशेष समारोहको आयोजना गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका निमित्त गणपति तथा सशस्त्र प्रहरी नायब उपरीक्षक बिक्रममणि अधिकारीले दिवंगत सशस्त्र प्रहरीहरूको शालिकमा फूलमाला अर्पण गर्दै कार्यक्रमको उदघाटन गरेका थिए। उक्त अवसरमा उनले सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) राजु अर्यालको शुभकामना सन्देश वाचन समेत गरेका हुन् ।
रजत महोत्सवको अवसरमा गण तथा मातहतमा रही सशस्त्र प्रहरी बल नेपालमा २५ वर्षभन्दा बढी सेवा प्रदान गरेका सशस्त्र प्रहरी निरीक्षक, नायब निरीक्षक, सहायक निरीक्षकसहित ३८ जना सशस्त्र प्रहरी कर्मचारीलाई सिल्भर जुबली कमिटमेन्ट मेडलद्वारा सम्मानसहित मेडल निमित्त गणपति अधिकारीले प्रदान गरेका छन् ।
कार्यक्रममा गणपति अधिकारीले सशस्त्र प्रहरी बल नेपालको इतिहासमा २५ औँ स्थापना दिवस अत्यन्तै गौरवपूर्ण दिन भएको जनाए।
कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक इन्द्रजंग थापा, उमेशकुमार आले, नायब निरीक्षक, सहायक निरीक्षक लगायतको सहभागिता थियो ।













