पर्सा , भदौ ११ —
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट १६२ जनाको मृत्यु भएको पुष्टि भएको छ। प्रहरीको पछिल्लो विवरणअनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९ र नवलपरासीमा २८ जनाको शव फेला परेको हो।
बाढीमा परी घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यस्तै, बाढीपछि झण्डै एक हजार जना सम्पर्कविहीन रहेको बताइएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरीका १३ जना कर्मचारी छन्।
विभिन्न जलविद्युत् आयोजनाका १०६ कर्मचारी, भन्सार तथा अध्यागमन कार्यालयका १९ कर्मचारी र स्वदेशी तथा विदेशी गरी ४८४ जना पर्यटक समेत सम्पर्कविहीन रहेको जनाइएको छ।
यसका अतिरिक्त रसुवा र नुवाकोटका स्थानीय बासिन्दा, चालक–सहचालक, यात्रु, व्यापारी तथा निजी कम्पनीमा कार्यरत कर्मचारीको अवस्थासमेत पत्ता लाग्न सकेको छैन। टेलिफोन तथा सञ्चार सेवा अवरुद्ध हुँदा सम्पर्कविहीनहरूको यकिन विवरण संकलनमा कठिनाइ भएको जनाइएको छ।
बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी तथा उद्धारलाई तीव्र बनाउन परिवारजनले सम्बन्धित निकायसँग आग्रह गरेका छन्। प्रहरीले बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेको जनाएको छ।






