प्रधानमन्त्री शाह न्युयोर्कमा, आज महासभालाई सम्बोधन गर्ने

1200x150_1200x150-01.jpg (1)

पर्सा , असोज ८ –

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका छन्। मंगलबार कतार एयरलाइन्समार्फत नेपालबाट प्रस्थान गरेका शाह दोहा हुँदै बुधबार न्युयोर्क पुगेका हुन्।

न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा तथा नेपाली कूटनीतिक अधिकारीहरूले स्वागत गरेका थिए। शाहको टोलीमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर रायलगायत अधिकारी रहेका छन्।

प्रधानमन्त्री शाहले आज, सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय छलफललाई सम्बोधन गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयका अनुसार उनी ८१औँ महासभाको जनरल डिबेटमा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्नेछन्।

शाहको सम्बोधनमा जलवायु परिवर्तन, जलवायुजन्य विपद्, जलवायु न्याय तथा नेपालले व्यहोरेको क्षति मुख्य विषय बन्ने अपेक्षा गरिएको छ। विशेषगरी भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिपछि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग उठाउँदै आएको जलवायु न्याय र क्षतिपूर्तिको विषयमा उनले धारणा राख्ने तयारी छ।

महासभाकै क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ। परराष्ट्र मन्त्रालयले पनि गुटेरेससँग भेट हुने पुष्टि गरेको छ।

यसपटक महासभामा नेपालको सहभागितालाई जलवायु परिवर्तनका कारण हिमाली तथा पहाडी क्षेत्रमा बढ्दै गएको जोखिमसँग जोडेर हेरिएको छ। संयुक्त राष्ट्रसंघको उच्चस्तरीय जनरल डिबेट सेप्टेम्बर २२ देखि २८ सम्म न्युयोर्कमा सञ्चालन भइरहेको छ।

सम्बन्धित पोस्टहरुः