वीरगंज , असोज ८ –
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, वीरगंजमा कार्यरत इन्जिनियर गजेन्द्र जैसवालमाथि ठेकेदारहरूको समूहले कुटपिट गरेको छ।
बुधबार साँझ भारतीय दूतावासको उत्तरतर्फ मुख्य सडकमा रहेको चिया पसल अगाडि ४–५ जनाको समूहले जैसवालमाथि कुटपिट गरेको बताइएको छ। कुटपिटपछि उनी मोटरसाइकलमा त्यहाँबाट गएको प्रत्यक्षदर्शीले बताएका छन्।
ठेकेदारहरूले जैसवालमाथि कमिसन माग्ने र नदिए काममा असहयोग गर्ने गरेको आरोप लगाउँदै आएका छन्। यही विषयलाई लिएर विवाद बढेपछि कुटपिट भएको स्रोतको दाबी छ।
यसअघि पनि जैसवाल २०७७ साउन ४ गते ८० हजार रुपैयाँसहित अख्तियारको टोलीबाट पक्राउ परेको स्रोतले जनाएको छ। उनीविरुद्ध ठोरी गाउँपालिकाका योजनामा रकम अनियमितता गरेको आरोपमा अख्तियारले छानबिन गरिरहेको स्रोतको दाबी छ। घटनाबारे थप विवरण आउन बाँकी छ।







