वीरगञ्ज। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारप्रति जनताको निराशा बढ्दै गएकाले नेपालमा फेरि जेनजी विद्रोह हुन सक्ने चेतावनी दिएका छन्।
राप्रपा पर्साद्वारा वीरगञ्ज बसपार्क नजिकै रहेको सोल्टी गार्डेन रिसोर्टमा आयोजित मधेश प्रदेशस्तरीय कार्यकर्ता भेटघाट कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन्।
कार्यक्रमका प्रमुख अतिथि लिङ्देनले वर्तमान सरकारबाट पनि जनताले अपेक्षाअनुसारको परिणाम पाउन नसकेको दाबी गर्दै बंगलादेशमा जस्तै नेपालमा पनि पुनः जेनजी विद्रोहको अवस्था आउन सक्ने बताए।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको झण्डै दुईतिहाइ बहुमतको सरकारले हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापनाको सवालमा अपेक्षित भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए। सुशासनको क्षेत्रमा समेत सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको उनको भनाइ थियो।
‘रास्वपाको झण्डै दुईतिहाइको सरकार सत्तामा छ। तर हिन्दू राज्य र राजसंस्था पुनःस्थापनाको विषयमा सरकारले जुन किसिमको भूमिका निर्वाह गर्नुपर्ने थियो, त्यो भएको छैन। सुशासनको सवालमा पनि सरकारले जनताको अपेक्षाअनुसार काम गर्न सकेको छैन,’ उनले भने।
कार्यक्रममा राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले मधेशमा रास्वपाले क्लिन स्वीप गरे पनि आफूहरूले हिन्दूहरूको पक्षमा संसद्मार्फत निरन्तर आवाज उठाउँदै आएको बताइन्। सत्तारूढ दलले हिन्दू समुदायका मुद्दा र विभेदका सवालमा मौनता साँधेको उनको आरोप थियो।
राप्रपा पर्साकी अध्यक्ष तथा पूर्वसांसद वीणा जयसवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका महामन्त्री मोहन यादव, मधेश प्रदेश अध्यक्ष भरत गिरीसहित मधेश प्रदेशका आठवटै जिल्लाका अध्यक्ष तथा नेता–कार्यकर्ताहरूको सहभागिता थियो।

कार्यक्रममा बारा अध्यक्ष विनोद गिरी, रौतहट अध्यक्ष राधेश्याम साह, सर्लाही अध्यक्ष विजयकुमार यादव, महोत्तरी अध्यक्ष राजेश्वर यादव, धनुषा अध्यक्ष रामचन्द्र राय, सिरहा अध्यक्ष शम्भु यादव र सप्तरी अध्यक्ष उनेश्वर साहलगायत सहभागी थिए। कार्यक्रमको सहजीकरण जिल्ला सचिव पन्नालाल पटेलले गरेका थिए।
राप्रपाको आगामी महाधिवेशन मंसिरको अन्तिम साताका लागि तय गरिएको छ। महाधिवेशनको तयारी तथा संगठनात्मक गतिविधिलाई तीव्रता दिने क्रममा अध्यक्ष लिङ्देनले मधेश प्रदेशका जिल्ला अध्यक्ष र नेता–कार्यकर्ताहरूसँग भेटघाटलाई तीव्र बनाएका हुन्।
यसैबीच, काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत राप्रपाका नेता ज्ञानेन्द्र शाहीले आगामी महाधिवेशनमा पार्टीको राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।








