जनकपुरधाम । धनुषामा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली लागेर प्रतिवादी घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शहीदनगर नगरपालिका–२ का करिब ३० वर्षीय जयकुमार यादवलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले पाँच राउण्ड गोली प्रहार गरेको हो।
प्रहरीका अनुसार शहीदनगर नगरपालिका–२ स्थित धनी पोखरीमा छठघाट निर्माण गरी पूजासामग्री राख्न बसेका सोही ठाउँका करिब ६० वर्षीय रामजतन यादव २०८३ कात्तिक ३० गते बिहान ६ बजे मृत अवस्थामा फेला परेका थिए।
घटनास्थलमा रगतजस्तो पदार्थको दाग तथा कपाल लागेको जस्तो देखिने धारिलो हतियारसमेत बरामद भएको थियो। घटनाबारे अनुसन्धान गर्ने क्रममा पुरानो रिसइबीका कारण जयकुमार यादवले धारिलो हतियार प्रहार गरी रामजतनको हत्या गरेको खुलेको प्रहरीको भनाइ छ।
घटनापछि फरार रहेका जयकुमारको खोजतलास गर्ने क्रममा उनी भारतीय सीमावर्ती जटही क्षेत्रमा लुकिछिपी बसेको विशेष सूचना प्रहरीले प्राप्त गरेको थियो।
सोही सूचनाका आधारमा मंसिर १२ गते साँझ करिब ६ बजे नगराइन नगरपालिका–२ जटहीबाट रायपुर जाने बाटोस्थित नेपाल–भारत सीमा क्षेत्रमा प्रहरीले उनलाई फेला पारेको थियो।
प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनी भारततर्फ भाग्न खोजेपछि आत्मसमर्पण गर्न चेतावनी दिँदै चिनियाँ पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको थियो। त्यसपछि पनि आत्मसमर्पण नगरी सीमा पार गर्न खोजेपछि प्रहरीले थप चार राउण्ड गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीको गोली लागेर यादवको बायाँ तिघ्रामा एक र दाहिने घुँडामुनि दुई गरी तीन गोली लागेको छ। घाइते यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जारी गरेको प्रेस विज्ञप्तिमा घटनाबारे जानकारी दिइएको छ।







