वीरगंज , भदौ ९ —
पर्सामा प्रहरीले ८१.३७ ग्राम लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार लागुऔषध ब्राउन सुगर खरिद–बिक्री तथा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले वीरगंज महानगरपालिका–१५ बाइपास सडकखण्डबाट एक जनालाई पक्राउ गरेको हो।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगंजबाट खटिएको टोली र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त प्रहरी टोलीले शंकास्पद रूपमा पैदल हिँडिरहेका व्यक्तिलाई रोकेर चेकजाँच गर्दा उनले बोकेको सेतो पाइन्टको दाहिने खल्तीबाट प्लास्टिकसहित ४१ ग्राम ७२ मिलिग्राम जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। यस्तै, प्लास्टिकबाहेक ३९ ग्राम ६५ मिलिग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थल नजिकै रोकिराखेको बा.१८ च ९००३ नम्बरको सेतो कार समेत बरामद गरेको छ।
पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका–६ बहुअरी प्रसौनी बस्ने ३९ वर्षीय अजयप्रसाद यादव रहेका छन्।
प्रहरीका अनुसार बरामद लागुऔषध तथा कारसहित यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।







