पर्सा , भदौ ११ —
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण अहिलेसम्म १५७ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार विभिन्न जिल्लाबाट १५७ जनाको शव फेला परेको हो।
पछिल्लो विवरणअनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा २७, चितवनमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको छ।
बाढीबाट घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। तीमध्ये २० जनाको त्रिवि शिक्षण अस्पताल, ४ जनाको ट्रमा सेन्टर, ३ जनाको वीर अस्पताल, १ जनाको वीरेन्द्र सैनिक अस्पताल, ३ जनाको नर्भिक अस्पताल र ९ जनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ।
बाढीका कारण झण्डै एक हजार जना बेपत्ता भएको अनुमान गरिएको छ। बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
चीनतर्फबाट एक्कासि आएको भीषण बाढी रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा मिसिएपछि नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको हो।
रसुवाको भोटेकोशी नदी तिब्बतबाट आउने केरुङ खोला र ल्हेन्दे खोला रसुवागढी क्षेत्रमा मिलेपछि नेपालमा भोटेकोशी नामले चिनिन्छ र पछि त्रिशूली नदीमा मिसिन्छ। पछिल्लो बाढी यही रसुवाको भोटेकोशी नदीमा आएको हो।






