बारा , भदौ ११ —
तीन दिनदेखि बेपत्ता रहेका बाराको विश्रामपुर गाउँपालिका–३ का ११ वर्षीय मिठु भन्ने राजेश गुप्ता भारतमा मृत अवस्थामा फेला परेका छन्।
घरबाट हराएपछि परिवारले उनको खोजी गर्दै प्रशासनलाई समेत जानकारी गराएको थियो। खोजीका क्रममा भारतको रक्सौलस्थित सिंगही नदीको खोलामा एक बालकको शव फेला परेको थियो।
शवको पहिचान राजेशकी आमाले गरेपछि मृतक बालक राजेश गुप्ता नै भएको पुष्टि भएको हो।
भारतीय ११२ नम्बर प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि शव नेपाल प्रहरीलाई बुझाइने जनाइएको छ।
राजेशको मृत्यु कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको र त्यसपछि मात्रै वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ।







