पर्सा , भदौ ११ —
नेपालमा आएको बाढी र त्यसबाट उत्पन्न अवस्थाबारे भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करले विदेश सचिव, विदेश मन्त्रालयका अधिकारी तथा काठमाडौं र बेइजिङस्थित भारतीय राजदूतसँग समीक्षा बैठक गरेका छन्।
जयशङ्करले सामाजिक सञ्जालमार्फत बाढी प्रभावित क्षेत्रमा रहेका सबै भारतीय नागरिकको अवस्था र सुरक्षाबारे तत्काल जानकारी लिने प्रयास भइरहेको बताएका छन्।
उनका अनुसार भारतीय विदेश मन्त्रालयले विभिन्न मन्त्रालय, राज्य सरकार, भ्रमण सञ्चालक तथा परियोजना अधिकारीहरूसँग समन्वय गरेर भारतीय नागरिकको अवस्थाबारे जानकारी संकलन गरिरहेको छ।
बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि नेपाल सरकारसँग समेत भारतले नजिकबाट समन्वय गरिरहेको जयशङ्करले बताएका छन्।
उनले भारतीय नागरिकको अवस्थाबारे जानकारी लिनुका साथै राहत कार्यमा समेत नेपाल पक्षसँग सहकार्य भइरहेको उल्लेख गरेका छन्।







