इप्रका सिमराका वरिष्ठ सई थपलियामाथि अवैध असुलीको आरोप

1200x150_1200x150-01.jpg (1)
वीरगंज, ८ असोज । प्रहरी विशेष सुरक्षा गण विराटनगरमा दरबन्दी रहेका प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) रूपेश थपलिया लामो समयदेखि बारा–पर्सा क्षेत्रमा कार्यरत रहेको र उनीमाथि अवैध असूलीको आरोप लगाइएको छ ।
उनको कार्यशैली र सरूवासम्बन्धी विषयमा प्रश्न उठ्न थालेको छ भने दरबन्दी रहेको स्थानमा हाजिर गराउन प्रहरी संगठनले पटक–पटक ताकेता गरे पनि उनी बारा–पर्साकै विभिन्न प्रहरी युनिटमा कार्यरत रहँदै आएको समाचार स्रोतले जनाएको छ।
वरिष्ठ सई थपलियाले पहुँच र आर्थिक चलखेलका आधारमा राम्रो मानिएका प्रहरी युनिटमा जिम्मेवारी पाउँदै आएको दाबी गरेको छ। यद्यपि, यस सम्बन्धमा प्रहरी संगठनको आधिकारिक धारणा सार्वजनिक भएको छैन।
हाल थपलिया इलाका प्रहरी कार्यालय सिमरा, बारामा कार्यरत छन। उनको कार्यशैलीलाई लिएर कार्यालयभित्रै असन्तुष्टि रहेको एक प्रहरी हवलदारले नाम नछाप्ने शर्तमा बताए।
उनका अनुसार थपलियाले कनिष्ठ प्रहरी कर्मचारीलाई हेप्ने, अनावश्यक दबाब दिने तथा ‘जसरी भए पनि पैसा कमाएर ल्याउन’ दबाब दिने गरेको आरोप छ। साथै, मधेसी र पहाडी समुदायका प्रहरी कर्मचारीबीच विभेदपूर्ण व्यवहार गर्ने गरेको आरोपसमेत स्रोतले लगाएको छ।
यस्ता आरोपवारे थपलियाको प्रत्यक्ष प्रतिक्रिया भने प्राप्त हुन सकेको छैन।
यसैबीच, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक खत्रीले आफ्नो कार्यक्षेत्रमा आर्थिक चलखेल हुने गरेको जानकारी आफूलाई नभएको बताए। वरिष्ठ सई थपलिया लामो समयदेखि सिमरामा कार्यरत रहेको विषयमा समेत आफूलाई जानकारी नभएको उनको भनाइ छ।
प्रहरी कर्मचारीले घुस लिने वा दिने गरेको प्रमाणित भएमा कडा कारबाही गरिने प्रहरी निरीक्षक खत्रीले बताए। थपलियामाथि घुस असुलीको आरोपवारे सोध्दा उनले आरोप पुष्टि गर्ने प्रमाण उपलब्ध भए तत्काल कारबाही गरिने दाबी गरे।
यस विषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्तासँग प्रतिक्रिया लिन पटक–पटक सम्पर्क गर्ने प्रयास गरिए पनि फोन सम्पर्क हुन सकेन।
स्थानीयवासीले समेत इलाका प्रहरी कार्यालय सिमराको कार्यशैलीप्रति प्रश्न उठाउँदै आएका छन। उनीहरूका अनुसार पछिल्लो समय एक जना वरिष्ठ प्रहरी अधिकृतको कार्यशैलीका कारण कार्यालयको छविमा असर परेको छ। स्थानीयले क्षेत्रमा आपराधिक गतिविधि तथा चोरीका घटनामा वृद्धि भएको दाबी गरेका छन। यद्यपि, यी दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
प्रहरी स्रोतले थपलियामाथि आर्थिक असुलीसम्बन्धी गुनासो माथिल्लो तहका प्रहरी अधिकारीसम्म पुग्ने गरेको दाबी गरेको छ। यही कारण उनलाई दरबन्दी रहेको स्थानमा पठाउन ढिलाइ भइरहेको स्रोतको दाबी छ।
सम्बन्धित पोस्टहरुः