वीरगंज , असोज ८ –
पर्सामा आगामी असोज ९ देखि ११ गतेसम्म हुन सक्ने अति भारी वर्षा, मेघगर्जन, चट्याङ र हावाहुरीको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउने निर्णय गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको असोज ८ गते बसेको बैठकले विपद् व्यवस्थापन तथा प्रतिकार्यका लागि विभिन्न तयारी गर्ने निर्णय गरेको हो।
बैठकले सम्भावित बाढी, डुबान र हावाहुरीबाट हुने क्षति न्यूनीकरणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उद्धार टोलीलाई रबर बोट, लाइफ ज्याकेटलगायत आवश्यक सामग्रीसहित २४ घण्टा तयारी अवस्थामा राख्ने निर्णय गरेको छ। जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई समेत सञ्चालनमा राखिने भएको छ।
सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई स्थानीय तह, सुरक्षा निकाय तथा सञ्चारमाध्यममार्फत मौसम र सुरक्षासम्बन्धी सूचना नियमित प्रवाह गर्ने तथा जोखिम अवधिमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन आग्रह गर्ने निर्णय गरिएको छ। नदी किनार तथा डुबानको जोखिममा रहेका बस्ती पहिचान गरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई प्राथमिकताका साथ सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाइने भएको छ।
स्वास्थ्य क्षेत्रमा सम्भावित आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै नारायणी अस्पताल, निजी अस्पताल, नर्सिङ होम तथा स्वास्थ्य केन्द्रलाई आवश्यक औषधि र आकस्मिक उपचारसहित तयारी अवस्थामा राख्ने र जिल्लाभरका एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न स्वास्थ्य कार्यालयमार्फत निर्देशन दिने निर्णय गरिएको छ।
त्यस्तै, भारी वर्षाका कारण सडक अवरुद्ध हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै मुख्य सडक तथा राजमार्ग आसपास आवश्यकताअनुसार प्रयोग गर्न सकिने जेसीबी तथा हेभी इक्विपमेन्ट तयारी अवस्थामा राखिने भएको छ।
बैठकले विपद्को समयमा राजनीतिक दल, स्थानीय तह, नागरिक समाज, गैरसरकारी संस्था, सरकारी निकाय तथा स्वयंसेवी संस्थाबीच समन्वय गरी खोज, उद्धार, राहत तथा पुनःस्थापनाका काम अघि बढाउने निर्णय गरेको छ।
जिल्लास्थित सरकारी तथा सार्वजनिक कार्यालयहरूले आफ्ना भवन, महत्वपूर्ण कागजात, सवारीसाधन तथा विद्युतीय उपकरणको सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाउनुपर्ने निर्णयसमेत गरिएको छ। चट्याङ वा विद्युतीय सर्टसर्किटबाट हुन सक्ने क्षति कम गर्न आवश्यक सावधानी अपनाउन र जोखिम अवधिमा विद्युतीय उपकरण बन्द अवस्थामा राख्न भनिएको छ।
उच्च जोखिम अवधिमा जिल्लाका प्रमुख प्रशासकीय अधिकृत तथा कार्यालय प्रमुखहरूलाई जिल्ला नछाड्नसमेत भनिएको छ। अत्यावश्यक कारणले जिल्ला बाहिर जानुपर्ने अवस्था आए प्रमुख जिल्ला अधिकारीलाई पूर्वजानकारी गराउनुपर्ने निर्णय गरिएको छ।








