प्रश्नबाट नेतृत्वसम्म

1200x150_1200x150-01.jpg (1)

पर्सा , असोज ८ –

म गंगा श्रेष्ठ। काठमाडौं विश्वविद्यालयको कानून संकायमा अन्तिम वर्ष अध्ययन गर्दैछु। तर मेरो आजको परिचय केवल विश्वविद्यालयमा कानून पढिरहेकी एउटी विद्यार्थीको परिचय होइन। म वीरगञ्जमा जन्मिएकी हुँ। वीरगञ्जमै हुर्किएँ। वीरगञ्जका गल्ली, बजार, समुदाय, मानिस र यहाँका सम्भावना तथा समस्यालाई बाल्यकालदेखि नजिकबाट देख्दै आएँ। त्यसैले आज जब म वीरगञ्ज महानगरपालिकाको मेयर पदका लागि आफ्नो उम्मेदवारी यात्रा अघि बढाउँदैछु, यो निर्णय अचानक आएको निर्णय होइन। यो वर्षौँदेखि मेरो मनमा बढ्दै आएको प्रश्नको परिणाम हो। यो मेरो आवाज हो। यो मेरो जिम्मेवारी बोध हो। र सबैभन्दा महत्वपूर्ण—यो मैले देखेको वीरगञ्जको भविष्यप्रतिको मेरो सपना हो।

मेरो स्वभाव नै प्रश्न गर्ने थियो
सानैदेखि घरमा होस् वा समाजमा, आफूलाई गलत लागेको कुरा देख्दा चुप लागेर बस्न मलाई कहिल्यै सहज लागेन। गलत देखेँ भने प्रश्न गर्थेँ। चित्त नबुझे आफ्नो कुरा राख्थेँ। कसैले “चुप लाग” भन्दा पनि किन चुप लाग्ने भन्ने प्रश्न मनमा आउँथ्यो। वीरगञ्जमा सानैदेखि घरका अग्रजहरू देश, राजनीति, समाज र शहरका विषयमा कुरा गरेको सुन्थेँ। म सुन्थेँ। सोच्थेँ। अनि प्रश्न गर्थेँ। कहिलेकाहीँ जवाफ आउँथ्यो—“तिमी सानै छौ, के बुझ्छौ?” तर त्यो प्रश्नले मेरो आवाज दबाएन। बरु मेरो जिज्ञासा झन् बढायो। म सोच्न थालेँ— उमेर सानो हुँदैमा प्रश्न गर्ने अधिकार सानो हुन्छ र? यही प्रश्न गर्ने स्वभाव विस्तारै मेरो व्यक्तित्वको हिस्सा बन्यो।
काठमाडौंले शिक्षा दियो, वीरगञ्जले प्रश्न दियो

कक्षा १ देखि १० सम्मको मेरो पढाइ काठमाडौंको Girls School मा भयो। काठमाडौंले मलाई शिक्षा दियो। तर वीरगञ्जसँगको मेरो सम्बन्धले मलाई समाज बुझ्न सिकायो। वीरगञ्जप्रतिको माया, यहाँको समाजसँग जोडिएको मेरो जिज्ञासा र आफ्नो ठाउँका विषयमा केही गर्नुपर्छ भन्ने भावनाले मलाई +२ अध्ययनका लागि फेरि वीरगञ्ज फर्कायो। त्यसपछि मैले वीरगञ्जमै कानून अध्ययन गर्ने निर्णय गरेँ। मेरो बाल्यकालदेखि पत्रकारितामा पनि रुचि थियो। समाजमा भइरहेका गलत घटना, अन्याय र आवाजविहीन मानिसका समस्या बाहिर ल्याउनुपर्छ भन्ने सोच थियो। मलाई लाग्थ्यो पत्रकारिताले प्रश्नलाई समाजसम्म पुर्‍याउन सक्छ। तर वीरगञ्ज आएपछि मैले अर्को बाटो भेटेँ कानून। मैले कानून रोजेँ। किनकि समाजमा गलत कुरा भइरहेको छ भनेर देखाउनु मात्र पर्याप्त छैन। त्यसको अधिकार के हो? जिम्मेवारी कसको हो? कानूनी व्यवस्था के भन्छ? समाधान कसरी खोज्ने? यी प्रश्नको उत्तर पनि जान्न आवश्यक थियो। त्यसैले कानून मेरो अध्ययन मात्र बनेन। समाजलाई बुझ्ने मेरो अर्को दृष्टि बन्यो। साँझको कक्षाबाट फर्किँदा मैले वीरगञ्जको अर्को अनुहार देखेँ , कलेजमा मेरो कक्षा साँझको समयमा हुन्थ्यो। करिब ४:४० देखि ७:४५ बजेसम्म।कक्षा सकेर घर फर्किँदा मैले समाजलाई किताबमा भन्दा फरक ढंगले अनुभव गर्न थालेँ। एउटी युवती साँझमा घर फर्किँदा समाजले उसको कपडा, समय, विवाह, चरित्र र व्यवहारसम्म प्रश्न गर्ने अवस्था मैले नजिकबाट महसुस गरेँ। त्यो अनुभवले मलाई एउटा गम्भीर प्रश्न गरायो—एउटी महिला आफ्नै शहरमा आफ्नो समयअनुसार हिँड्न पनि किन डराउनुपर्ने?
हामी विकासको कुरा गर्छौँ। ठूला भवनको कुरा गर्छौँ। ठूला सडकको कुरा गर्छौँ। तर यदि शहरमा हिँडिरहेकी एउटी युवतीले आफ्नो सुरक्षाका बारेमा निरन्तर सोच्नुपर्छ भने—त्यो शहर कति विकसित भयो? त्यही अनुभवले मेरो सोचलाई अझ बलियो बनायो। मलाई लाग्यो—महिलालाई केवल “सुरक्षित रहनू” भनेर सम्झाएर पुग्दैन। सहरको व्यवस्था नै महिलाले सुरक्षित महसुस गर्ने बनाउनुपर्छ। डरले मलाई रोकेन, प्रश्नले अघि बढायो यी अनुभवहरूले मलाई कमजोर बनाएनन्। बरु साहस दिए।मैले प्रश्न गर्न छोडिनँ। वीरगञ्जका समस्या देख्दा आवाज उठाएँ। स्थानीय विषयमा प्रश्न गरेँ।राष्ट्रिय विषयमा चासो राखेँ। समाजका विषयमा छलफल गरेँ।किनकि मेरो विश्वास थियो—समाज बदलिन्छ भने प्रश्नबाटै परिवर्तनको सुरुवात हुन्छ। तर समयसँगै मैले अर्को कुरा पनि सिकेँ। प्रश्न गर्नु आवश्यक छ। तर प्रश्नपछि समाधान खोज्नु अझ आवश्यक छ। समाजसँग काम गर्दै मैले अर्को पाठ सिकेँ ।

वीरगञ्जमा रहँदा मैले स्थानीय तथा राष्ट्रिय विभिन्न संघ–संस्थासँग जोडिएर काम गर्ने अवसर पाएँ। त्यहाँ मैले समाजलाई अझ नजिकबाट बुझ्ने अवसर पाएँ। युवा के चाहन्छन्?महिलाका वास्तविक चुनौती के हुन्? समुदायले स्थानीय सरकारबाट के अपेक्षा गर्छ? संस्थाहरूले कहाँ काम गरिरहेका छन्? र सबैभन्दा महत्वपूर्ण— नीति र वास्तविक जीवनबीचको दूरी कहाँ छ?यी अनुभवले मलाई सिकायो—परिवर्तन फेसबुकको स्टाटसबाट मात्र आउँदैन।परिवर्तनका लागि अध्ययन चाहिन्छ।समुदायसँग सम्बन्ध चाहिन्छ।निरन्तरता चाहिन्छ।योजना चाहिन्छ।र जिम्मेवारी लिन सक्ने साहस चहिन्छ। त्यसैले आज म उम्मेदवारीको यात्रामा छु ।

आज म काठमाडौं विश्वविद्यालयमा कानूनको अन्तिम वर्ष अध्ययन गर्दैछु। तर मेरो नजर केवल किताबमा छैन। मेरो नजर मेरो शहरमा पनि छ।त्यसैले आज म वीरगञ्ज महानगरपालिकाको मेयर पदका लागि आफ्नो उम्मेदवारी यात्रा अघि बढाउँदैछु।यो निर्णय मेरो लागि पदको खोजी मात्र होइन।यो जिम्मेवारी खोज्ने निर्णय हो।मलाई थाहा छ, प्रश्नहरू आउनेछन्।“तिमी किन? तिमीसँग कति अनुभव छ? तिमीले के गर्न सक्छौ? म यी प्रश्नबाट भाग्न चाहन्नँ।बरु म चाहन्छु—मसँग प्रश्न गरियोस्। किनकि जनताले प्रश्न गर्नुपर्छ।र नेतृत्वले जवाफ दिनुपर्छ। मेरो वीरगञ्ज केवल विकसित होइन, सक्षम हुनुपर्छ वीरगञ्जलाई हामीले केवल विकासको भाषामा हेर्नु हुँदैन।सडक बनेर मात्र शहर विकसित हुँदैन।भवन बनेर मात्र शहर आधुनिक हुँदैन। बजेट खर्च भएर मात्र विकास प्रमाणित हुँदैन।मेरो लागि विकासको वास्तविक प्रश्न हो—त्यसले नागरिकको जीवन कति बदल्यो? त्यसैले मेरो दृष्टिकोण स्पष्ट छ।

१. ज्ञान, सीप र अवसरको वीरगञ्ज
हरेक बालबालिकाले गुणस्तरीय शिक्षा पाउनुपर्छ।हरेक युवाले बजारसँग जोडिएको सीप पाउनुपर्छ।हरेक योग्य नागरिकले अवसर पाउनुपर्छ।शिक्षालाई प्रमाणपत्रमा सीमित होइन—सीप, रोजगारी र आत्मनिर्भरतासँग जोड्ने वीरगञ्ज।
स्थानीय सरकारलाई आधारभूत तथा माध्यमिक शिक्षा, प्राविधिक तथा व्यावसायिक तालिम, विद्यालयको गुणस्तर, छात्रवृत्ति र विद्यार्थी सिकाइसँग सम्बन्धित महत्वपूर्ण अधिकारहरू दिइएको छ।त्यसैले मेरो प्रश्न हुनेछ—हाम्रा विद्यालयबाट विद्यार्थी निस्किँदा उनीसँग प्रमाणपत्र मात्र हुन्छ कि भविष्य निर्माण गर्ने क्षमता पनि?

२. महिला शक्ति र समान नेतृत्वको वीरगञ्ज
महिलालाई सहयोग चाहिने वर्गको रूपमा मात्र हेर्ने सोच बदलिनुपर्छ।महिला निर्णयकर्ता हुन्।महिला नेतृत्वकर्ता हुन्।महिला उद्यमी हुन्।महिला नीति निर्माता हुन्।र महिला शहर निर्माणको केन्द्रमा हुनुपर्छ।म यस्तो वीरगञ्ज चाहन्छु जहाँ—छोरीले आफ्नो भविष्यका लागि अनुमति माग्न नपरोस्।जहाँ महिला राति घर फर्किँदा आफ्नो सुरक्षाको डरभन्दा आफ्नो गन्तव्यको बारेमा सोचोस्।जहाँ महिलाको आवाज सुन्नका लागि उनी ठूलो पदमा पुग्नैपर्ने अवस्था नहोस्।

३. स्वस्थ, सुरक्षित र सम्मानजनक जीवनको वीरगञ्ज
स्वास्थ्य भनेको अस्पताल पुगेपछि उपचार पाउनु मात्र होइन।सफा पानी।स्वच्छ वातावरण।पोषण।सरसफाइ।रोकथाममा आधारित स्वास्थ्य सेवा।जनस्वास्थ्य।यी सबै स्वास्थ्यका आधार हुन्।स्थानीय सरकारको अधिकारक्षेत्रमा आधारभूत स्वास्थ्य, पोषण, स्वच्छ खानेपानी, प्रदूषण नियन्त्रण र सरसफाइका महत्वपूर्ण जिम्मेवारीहरू छन्।त्यसैले मेरो सोच स्पष्ट छ—
नागरिक बिरामी भएपछि मात्र महानगर सम्झिने होइन; नागरिक बिरामी नपरोस् भनेर महानगरले पहिले नै काम गर्नुपर्छ।

४. युवा शक्ति र आत्मनिर्भर अर्थतन्त्रको वीरगञ्ज
वीरगञ्जको सबैभन्दा ठूलो शक्ति यसको युवा जनशक्ति हो।तर युवालाई केवल भाषणमा “देशको भविष्य” भनेर सम्बोधन गरेर पुग्दैन।उनीहरूलाई—सीप चाहिन्छ।पूँजीमा पहुँच चाहिन्छ।उद्यमको वातावरण चाहिन्छ।बजार चाहिन्छ।रोजगारी चाहिन्छ।वीरगञ्जको व्यापारिक र औद्योगिक सम्भावनालाई युवाको सीप र उद्यमशीलतासँग जोड्नुपर्छ।महानगरको डेटा प्रणालीमै Employment Service Centre सम्बन्धी रोजगारी तथ्यांक राख्ने व्यवस्था छ।अब तथ्यांक राख्ने मात्र होइन—त्यसबाट रोजगारी सिर्जना गर्ने नीति बनाउनुपर्छ।

५. आफ्नो पहिचानमा गर्व गर्ने वीरगञ्ज
वीरगञ्जको पहिचान एउटै भाषा, एउटै संस्कृति वा एउटै समुदायमा सीमित छैन।वीरगञ्ज विविधताको शहर हो।बहुभाषिक।बहुधार्मिक।बहुसांस्कृतिक।यही विविधता हाम्रो शक्ति हो।हाम्रा भाषा, पर्व, कला, धार्मिक तथा ऐतिहासिक सम्पदा र परम्परालाई संरक्षण गर्दै नयाँ पुस्तासँग जोड्नुपर्छ।आफ्नो पहिचानमा गर्व गर्ने वीरगञ्ज नै आत्मविश्वासी वीरगञ्ज हो।

६. जलवायु र विपद्सँग जुध्न सक्षम वीरगञ्ज
डुबान, अत्यधिक गर्मी, प्रदूषण र पानीसँग सम्बन्धित चुनौतीहरूलाई वर्षा भएपछि सम्झिने होइन।पूर्वतयारी चाहिन्छ।वैज्ञानिक योजना चाहिन्छ।जोखिमको नक्सांकन चाहिन्छ।आपतकालीन प्रतिक्रिया प्रणाली चाहिन्छ।र दीर्घकालीन वातावरणीय नीति चाहिन्छ।स्थानीय तहको कानूनी जिम्मेवारीमै विपद् व्यवस्थापन, वातावरणीय जोखिम न्यूनीकरण, प्रदूषण नियन्त्रण, फोहोरमैला व्यवस्थापन र हरित क्षेत्र संरक्षण समावेश छन्।मेरो लक्ष्य—विपद् आएपछि प्रतिक्रिया दिने होइन, विपद् आउनुअघि तयार हुने वीरगञ्ज।

७. जनताको प्रश्नको जवाफ दिने वीरगञ्ज
मेरो दृष्टिकोणको सबैभन्दा महत्वपूर्ण आधार हो—जवाफदेहिता।जनताले बारम्बार सोध्नुपर्ने अवस्था हुनु हुँदैन—“काम कहाँ पुग्यो? बजेट कहाँ खर्च भयो? योजना किन रोकियो? परिणाम के आयो? महानगरले आफैँ भन्नुपर्छ—यो काम भयो।यति बजेट विनियोजन भयो।यति खर्च भयो।यति प्रगति भयो।यस्तो परिणाम आयो।वीरगञ्ज महानगरको आफ्नै डेटा प्रणालीमा वित्तीय, शिक्षा, रोजगारी र वातावरणसम्बन्धी तथ्यांकलाई सार्वजनिक व्यवस्थापन तथा जवाफदेहितासँग जोड्ने आधार देखिन्छ।अब मेरो सोच छ—डेटा जनताको पहुँचमा।बजेट जनताको जानकारीमा।योजना जनताको निगरानीमा।
र परिणाम जनताको मूल्यांकनमा।

म कसैको विरोध गर्न होइन, एउटा विकल्प प्रस्तुत गर्न अघि बढ्दैछु मेरो उम्मेदवारी कसैलाई व्यक्तिगत रूपमा कमजोर देखाउने अभियान होइन।म व्यक्तिमाथि होइन—समस्यामाथि प्रश्न गर्न चाहन्छु।म सोध्न चाहन्छु—वीरगञ्जका नागरिकले अझै कुन समस्या भोगिरहेका छन्?किन समाधान हुन सकेको छैन?समाधानको जिम्मेवारी कसको हो?बजेट कहाँ छ?समयसीमा के हो?र परिणाम कहिले आउँछ?मेरो राजनीति व्यक्तिको प्रशंसा वा आलोचनामा सीमित हुनु हुँदैन।मेरो राजनीति परिणामको प्रश्नमा केन्द्रित हुनुपर्छ।

मेयर पद मेरो लागि पद होइन, सार्वजनिक जिम्मेवारी हो
म कानून पढ्दैछु।त्यसैले मलाई थाहा छ—अधिकारसँगै जिम्मेवारी आउँछ।शक्तिसँगै जवाफदेहिता आउँछ।र सार्वजनिक पदसँगै सार्वजनिक उत्तरदायित्व आउँछ।स्थानीय सरकार सञ्चालन ऐनले पनि स्थानीय शासनमा जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता र गुणस्तरीय सेवा प्रवाहलाई आधारभूत उद्देश्यका रूपमा राखेको छ। त्यसैले म मेयर पदलाई सुविधा वा प्रतिष्ठाको पदका रूपमा हेर्दिनँ। यो जनताको प्रश्नको सामना गर्ने पद हो। मसँग एउटा सपना छम यस्तो वीरगञ्ज चाहन्छु—जहाँ अवसर खोज्न शहर छोड्नुपर्ने बाध्यता नहोस्। जहाँ युवाले रोजगारीका लागि आफ्नो क्षमता बेच्न मात्र होइन, आफ्नै शहरमा अवसर सिर्जना गर्न सकून्।जहाँ बिरामी हुँदा नागरिकले सम्मानजनक स्वास्थ्य सेवा पाऊन्। जहाँ स्वच्छ पानी र स्वच्छ हावा अधिकारको विषय बनोस्।जहाँ फोहोर व्यवस्थापन कुनै मौसमी अभियान नहोस्। जहाँ डुबान आएपछि मात्र होइन, डुबान आउनुअघि तयारी होस्।जहाँ हाम्रो संस्कृति नयाँ पुस्ताले गर्वका साथ बोक्न सकोस्।जहाँ महिलाले डर होइन, नेतृत्वको सपना देखून्।जहाँ महानगरको कार्यालय नागरिकको लागि खुला होस्।जहाँ जनताको प्रश्नलाई आलोचना होइन, लोकतन्त्रको अभ्यास मानियोस्।र जहाँ विकासको अर्थ केवल नयाँ संरचना होइन—नागरिकको बदलिएको जीवन होस्।

अब मेरो प्रश्न केवल वीरगञ्जमा समस्या के छ? भन्ने होइन। मेरो प्रश्न हो “समस्या समाधान गर्न हामी कहिलेसम्म पर्खिने? मलाई थाहा छ, यो यात्रा सजिलो छैन।तर म सजिलो बाटो खोजेर अघि बढेकी पनि होइन।म प्रश्नबाट आएको मान्छे हुँ।म जवाफ खोज्दै आएको मान्छे हुँ।र आज म वीरगञ्जको भविष्यबारे एउटा स्पष्ट प्रतिबद्धता राख्न चाहन्छु—मलाई केवल विकसित वीरगञ्ज चाहिएको छैन। मलाई शिक्षित, स्वस्थ, सुरक्षित, आत्मनिर्भर, सांस्कृतिक रूपमा गौरवान्वित, वातावरणीय रूपमा सक्षम र जनताप्रति जवाफदेही वीरगञ्ज चाहिएको छ। किनकि विकासको केन्द्रमा भवन होइन, नागरिक हुनुपर्छ।राजनीतिको केन्द्रमा व्यक्ति होइन, जनताको जीवन हुनुपर्छ।रस्थानीय सरकारको अन्तिम जवाफ जनताप्रति हुनुपर्छ।

सम्बन्धित पोस्टहरुः