वीरगंज , असोज ८ –
रसायनशास्त्र विभाग, ठाकुर राम बहुमुखी क्याम्पस र नेपाल केमिकल सोसाइटी, मधेश प्रदेशको संयुक्त आयोजनामा एकदिने अनुसन्धान प्रेरणा, विद्यार्थी शैक्षिक अभिवृद्धि तथा गुणस्तर सुधारसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।
नेपाल केमिकल सोसाइटी, मधेश प्रदेशका अध्यक्ष सहायक प्राध्यापक अमरदीप पण्डितको अध्यक्षता तथा ठाकुर राम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. ईश्वरकुमार यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा रसायनशास्त्र तथा अनुसन्धान क्षेत्रका विज्ञहरू सहप्राध्यापक डा. चन्द्रजीत यादव, डा. रणधीर झा, सहप्राध्यापक माधव भूतम र सहायक प्राध्यापक जसनाथ महर्जनलगायतको सहभागिता रहेको थियो। विज्ञहरूले अनुसन्धानका सम्भावना, शैक्षिक विकास तथा विद्यार्थीको क्षमता अभिवृद्धिसम्बन्धी अनुभव र मार्गदर्शन प्रस्तुत गरेका थिए।
कार्यक्रममा ठाकुर राम बहुमुखी क्याम्पसको ‘स्टुडेन्ट भोइस क्लब’का संयोजक प्रियान्सु चौरसिया, विद्यार्थी नेता रुपेश साह तथा बीएससीका विद्यार्थीहरू आकाश साह, मन्जेश यादव, अनामिका दास, रिचा चौरसिया, श्यामदरश यादव, स्नेहा सिंह, सेजल कर्ण, अमृता साहलगायतको सक्रिय सहभागिता रहेको थियो।
विद्यार्थीहरूले अनुसन्धानका विषयमा विज्ञहरूसँग अन्तरक्रिया गर्दै आफ्ना जिज्ञासा राखेका थिए। विज्ञहरूको अनुभव तथा सुझावले विद्यार्थीलाई अनुसन्धानतर्फ अघि बढ्न थप प्रेरणा मिलेको आयोजकले जनाएको छ।
ठाकुर राम बहुमुखी क्याम्पसमा लामो समयपछि आयोजना गरिएको यस कार्यक्रमले विद्यार्थी, शिक्षक तथा अनुसन्धानकर्ताबीच ज्ञान आदान–प्रदान र सहकार्यको वातावरण निर्माण गर्न सहयोग पुगेको आयोजकको भनाइ छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने विज्ञ, प्राध्यापक, नेपाल केमिकल सोसाइटीका पदाधिकारी तथा सदस्य, क्याम्पस परिवार र सहभागी विद्यार्थीहरूलाई आयोजकले धन्यवाद व्यक्त गरेको छ।






