ढाका । बंगलादेशका एक राज्यमन्त्री हातमा पेस्तोल बोकेर लागुऔषधविरुद्धको कारबाहीमा आफैँ सडकमा उत्रिएपछि विवादमा तानिएका छन् ।
राजधानी ढाकास्थित गेन्दारिया क्षेत्रमा मन्त्री इशराक हुसेन आफ्ना समर्थकहरूसहित पेस्तोल भिरेर बस्तीमा छापा मार्दै हिँडेको भिडियो सार्वजनिक भएपछि उनको चर्को आलोचना भइरहेको छ । शनिबार भएको उक्त घटनामा मन्त्री हुसेन र उनका सहयोगीहरूले स्थानीय बस्तीमा पुगेर लागुऔषध कारोबारी रहेको आशंकामा केही व्यक्तिहरूलाई नियन्त्रणमा लिनुका साथै त्रिपालका टहराहरू भत्काएका थिए ।
मन्त्री आफैँले उक्त कारबाहीको भिडियो आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेका छन् । भिडियोमा उनले ६ जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको दाबी गरेका छन् ।
मन्त्रीले कानुन हातमा लिएर पेस्तोलसहित छापा मारेको भिडियो बाहिरिएपछि सुरक्षा निकाय र सर्वसाधारणले यसको विरोध गरेका छन् । छापा मार्ने र कारबाही गर्ने अधिकार केवल कानुन कार्यान्वयन गर्ने निकायलाई मात्र रहेको भन्दै आलोचना भएको छ । यस विषयमा ढाका महानगरीय प्रहरीका उप–आयुक्त मलिक अहसान उद्दिन सामीले छापा मार्ने विशेषाधिकार सुरक्षा निकायलाई मात्रै हुने स्पष्ट पारे । यद्यपि, बंगलादेशको कानुनअनुसार कुनै पनि नागरिकले अपराधमा संलग्न भएको आशंकामा कसैलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउन भने सक्ने उनले बताए ।
प्रहरीका अनुसार मन्त्रीले जानकारी गराएपछि १० जनालाई गेन्दारिया प्रहरी चौकीमा ल्याइएको छ । गेन्दारिया प्रहरी प्रमुख मुनिरुज्जमान मुनिरले पक्राउ परेका व्यक्तिहरूको साथबाट सेतो धुलो जस्तो शंकास्पद पदार्थ बरामद भएको र त्यो लागुऔषध नै हो वा होइन भन्ने पुष्टि गर्न प्रयोगशाला परीक्षणका लागि पठाइएको जानकारी दिएका छन् ।
आफ्नै कार्यकर्तालाई पनि मन्त्रीको चेतावनी
मन्त्री हुसेनले लागुऔषधका कारण देशका युवापुस्ता कुलतमा फसेर बर्बाद भइरहेको भन्दै आफूले विगत ६ महिनादेखि यसबारे सूचना संकलन गरिरहेको बताएका छन् । उनले लागुऔषधको जालो तोड्न यो अभियान चलाइएको दाबी गरे । राजनीतिक रूपमा कडा सन्देश दिँदै उनले भने, ‘यदि मेरो आफ्नै पार्टीका कोही व्यक्ति लागुऔषध कारोबारमा संलग्न भेटिए भने उनीहरूमाथि झन् कडा कानुनी कारबाही हुनेछ । यो अभियान मेरो निर्वाचन क्षेत्रबाट सुरु भएको छ र छिट्टै देशभर फैलिनेछ ।’
लागुऔषध नियन्त्रणमा सहयोग गर्ने नागरिकलाई सम्मान गरिने पनि उनले घोषणा गरेका छन् ।
भिडियोमा पक्राउ परेका व्यक्तिहरूले मन्त्रीसामु हात जोडेर आफूहरूलाई छोडिदिन बिन्ती गरिरहेको देखिन्छ । तर, मन्त्रीले उनीहरूमाथि कुनै किसिमको भौतिक आक्रमण वा कुटपिट नहुने आश्वासन दिएका थिए ।
‘तपाईंहरूमाथि कसैले हात हाल्ने छैन । हामी यहाँ कुटपिट गर्न आएका होइनौँ,’ मन्त्रीले भनेका छन्, ‘देश कानुनअनुसार चल्छ । तपाईंहरूलाई प्रहरीको जिम्मा लगाइनेछ र अदालतबाट कानुनी प्रक्रिया पुर्याएर मात्रै सजाय दिइनेछ ।’






