जनकपुरधाम, ४ मंसिर । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिएको छ। तर, दलहरूबीच सत्ता समीकरण नमिलेका कारण तोकिएको समयभित्र कसैले पनि मुख्यमन्त्रीका लागि दाबी पेस गर्न सकेनन्।
प्रदेश प्रमुख कार्यालयले आज अपराह्न ४ बजेसम्मका लागि दाबी पेस गर्ने समय दिएको थियो। उक्त समयसीमा सकिएलगत्तै नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष प्रदेश नेताहरू प्रदेश प्रमुखको कार्यालय पुगेका छन्। कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादव, एमाले संसदीय दलका नेता सरोजकुमार यादव र नेकपा संसदीय दलका नेता युवराज भट्टराईले संयुक्तरूपमा प्रदेश प्रमुखलाई भेटेर सरकार गठनको समय थप्न आग्रह गरेका हुन्।
तीन दलका नेताहरूले आफूहरूबिच आवश्यक राजनीतिक छलफल जारी रहेकाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नै बहुमतको सरकार बनाउन दाबी पेस गर्ने समयसीमा थप गरिदिन प्रदेश प्रमुखसमक्ष अनुरोध गरेका छन्।
सत्ता समीकरणको रस्साकस्सीबिच एमाले संसदीय दलका नेता सरोजकुमार यादव आफ्नै नेतृत्वमा सरकार बनाउने कसरतमा जुटेका छन्, तर त्यसमा कांग्रेस अझै सहमत भइसकेको छैन। अर्कोतर्फ, प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी जसपा नेपाल भने एमालेसँग मिलेर सरकार बनाउने पक्षमा देखिएको छैन। जसपा नेपालले जनमत पार्टी र कांग्रेसलाई समेत मिलाएर ‘अग्रगामी मोर्चा’ को स्वरूपमा आफ्नै नेतृत्वमा सरकार बनाउने दाउ हेरिरहेको छ।
तोकिएको समयसीमाभित्र दाबी नपरेको र तीन दलले समय थपको माग गरेको अवस्थामा अब प्रदेश प्रमुखले के निर्णय लिन्छन् भन्नेमा मधेशको राजनीति केन्द्रित भएको छ।






