खेलाडी छनोट प्रक्रियामा राजनीतिक हस्तक्षेप भएको आरोप

1200x150_1200x150-01.jpg (1)

वीरगञ्ज । मधेश प्रदेश ब्याडमिन्टन संघको खेलाडी छनोट प्रक्रियामा राजनीतिक हस्तक्षेप भएको आरोप लागेको छ। १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय महिला तथा पुरुष ब्याडमिन्टन खेलाडी छनोटका क्रममा टिम प्रशिक्षकको नाम राजनीतिक दबाबमा परिवर्तन गरिएको खेलाडीहरूले आरोप लगाएका छन्।

आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतलगायतका स्थानमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेश प्रदेशबाट खेलाडी छनोट गरिएको हो। त्यसका लागि मंसिर ५ र ६ गते सर्लाहीको लालबन्दीस्थित ब्याडमिन्टन हलमा प्रदेशस्तरीय महिला तथा पुरुष छनोट प्रतियोगिता आयोजना गरिएको थियो।

नेपाल ब्याडमिन्टन संघअन्तर्गत मधेश प्रदेश ब्याडमिन्टन संघले प्रदेशबाट राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकको नामसहितको पत्र सार्वजनिक गरेको छ। तर, उक्त पत्रमा समावेश नाम र जिम्मेवारीमा राजनीतिक प्रभाव परेको भन्दै विवाद उत्पन्न भएको हो।

खेलाडीहरूका अनुसार सुरुमा टिम प्रशिक्षकका रूपमा प्रेमबाबु महतोको नाम समावेश गरिएको थियो। तर, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको राजनीतिक दबाबका कारण उनको नाम हटाएर बरुण दाहालको नाम राखिएको उनीहरूको आरोप छ।

दाहाल मधेशवादी दलबाट निर्वाचित वडा अध्यक्षसमेत रहेको बताइएको छ। खेलाडीहरूले खेलकुदजस्तो निष्पक्ष र प्रतिस्पर्धात्मक क्षेत्रमा समेत राजनीतिक पहुँचका आधारमा व्यक्तिको नाम परिवर्तन गरिनु गलत भएको बताएका छन्।

खेलाडी छनोट तथा व्यवस्थापनमा राजनीतिक हस्तक्षेप भएको आरोपले मधेश प्रदेश ब्याडमिन्टन संघको निष्पक्षता र कार्यशैलीमाथि समेत प्रश्न उठाएको छ। खेलकुदलाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्ने अवस्थामा जिम्मेवार पदाधिकारीहरूकै दबाबमा निर्णय परिवर्तन भएको आरोपले खेल क्षेत्रभित्र असन्तुष्टि बढाएको छ।

संघका अध्यक्ष तुलसी नारायण श्रेष्ठको नेतृत्वमा रहेको मधेश प्रदेश ब्याडमिन्टन संघले भने नाम परिवर्तनबारे आधिकारिक रूपमा के कारणले निर्णय गरिएको हो भन्ने स्पष्ट पारेको छैन।

राष्ट्रिय प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोटदेखि टिम प्रशिक्षकसम्म राजनीतिक प्रभाव परेको आरोप सार्वजनिक भएपछि यस विषयमा संघ र सम्बन्धित निकायले स्पष्ट जवाफ दिनुपर्ने देखिएको छ। खेलाडीहरूले उठाएको आरोपबारे मुख्यमन्त्री सरोजकुमार यादव, बरुण दाहाल तथा मधेश प्रदेश ब्याडमिन्टन संघको आधिकारिक धारणा भने पुष्टि हुन बाँकी छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः