वीरगंज , मङ्सिर १२ –
पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहालको गृह मन्त्रालयमा सरुवा भएको छ। गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम श्रेणीका ९ जना सहसचिवको सरुवा तथा पदस्थापना गर्ने क्रममा दाहालको पनि सरुवा गरेको हो।
मन्त्रालयको मंसिर ११ गतेको निर्णयअनुसार दाहाललाई गृह मन्त्रालय, सिंहदरबारमा सरुवा गरिएको छ। उनको स्थानमा गृह मन्त्रालयका सहसचिव एकदेव अधिकारीलाई पर्साको नयाँ प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
मन्त्रालयको निर्णयअनुसार आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन्। अध्यागमन विभाग, कालिकास्थानका महानिर्देशक रामचन्द्र तिवारीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ भने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरिएको छ।
त्यस्तै, गृह मन्त्रालय वा अन्तर्गत कार्यरत पाँच जना सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापना गरिएको छ। जसअनुसार गीता कुमारी होमेगाईलाई रामेछाप, वीरेन्द्र कुमार मिश्रलाई दैलेख, विमल प्रसाद बराललाई महोत्तरी, शिव प्रसाद रेग्मीलाई प्युठान र दीपक लामिछानेलाई सिन्धुलीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ।







