विराटनगर । विराटनगरको सीमावर्ती भारतीय बजार जोगवनी । दैनिक उपभोग्य सामान किन्ने नेपालीहरूको भीडभाड हुने यही बजारको एउटा व्यस्त व्यापारिक भवनको छैटौँ–सातौँ तलामा विगत झन्डै चार दशकदेखि जुवाखाल चलिरहेको छ । जहाँ हरेक दिन दर्जनौँ नेपालीले आफ्नो घरखेत र जिन्दगी दाउमा लगाइरहेका छन् ।
जोगवनीस्थित रामसागर मार्केटको माथिल्लो तलामा चल्ने यो अवैध कौडा खालमा दैनिक ३० देखि ५० जनासम्म नेपाली पुग्ने गर्छन् । अचम्मको कुरा, भारतीय भूमिमा चल्ने यो अड्डामा खेल्नेहरू शतप्रतिशत नेपाली नै हुन्छन् । ‘त्यहाँ खेल्ने सबै नेपाली हुन् । इन्डियाले कमाएर भोज गर्छ, नेपालीहरू बर्बाद भइरहेका छन्,’ लामो समय यही जुवाखालमा बिताएका एक खेलाडी भन्छन् ।
रामसागर मार्केटको तल्लो तलामा नारायण स्टोर, कस्मेटिक र मोबाइलका सामान्य पसलहरू छन् । तर, बजारको दक्षिणपट्टिको सिँढी हुँदै एसम्यान पसलमाथिबाट उत्तरतर्फ लागेपछि एउटा बन्द सटर भेटिन्छ । ‘दक्षिण साइडमा सिँढी छ, नारायण स्टोर र एसम्यानको माथि गएर उत्तर साइड लाग्दा सटर लागेको हुन्छ । गेटमा मान्छेहरू बसेका हुन्छन्, उनीहरूले सटर खोलेर माथि छैटौँ–सातौँ तलामा लैजान्छन्,’ ती खेलाडी भन्छन् ।
करिब ३५–४० वर्षअघि रामसागर रायले आफ्नै भवनमा सुरु गरेको यो धन्दा उनको मृत्युपछि अहिले उनका छोरा भीम राय र काका राजु राय (काका–भतिज) ले सञ्चालन गरिरहेका छन् । स्रोतका अनुसार भारतीय प्रशासनको मौन समर्थनमै यो अड्डा दशकौँदेखि निर्वाध चलिरहेको छ । ‘३५–४० वर्ष भयो चलिरहेको छ, प्रशासनले पैसा खाएर चलिरहेको छ,’ स्रोतले दाबी गर्यो ।
साँझ ५–६ बजेदेखि सुरु हुने खेल रातभरि चल्छ । विराटनगर मात्र होइन, झापा, इटहरी, धरान, लहान र बर्दिवाससम्मका व्यवसायी र पैसावालाहरू गाडी लिएर जोगवनी पुग्छन् । नेपालतर्फको पार्किङमा गाडी राखेर उनीहरू पैदलै सीमा पार गर्छन् । ‘यिनीहरू सानो पैसावाला मान्छे आएका होइनन् । दिनमा १०–१२ देखि २० लाखसम्मको खेल हुन्छ । ठुला खेलाडी आएको दिन त करोडौँको खेल हुन्छ,’ अर्का जुवाडेले भने । पहिले झोलामा नगद बोकेर जाने खेलाडीहरू अहिले डिजिटल भुक्तानीमार्फत झनै छिटो रित्तिने गरेका छन् । ‘अहिले क्युआरको जमाना छ सर,’ ती खेलाडी भन्छन्, ‘पैसा मोबाइलमा बोकेर जान्छन्, त्यहाँ हार्छन् अनि क्युआर गरिहाल्छन् ।’
जोगवनीको यो जुवाखालमा नेपालीहरू हारजितले मात्र होइन, सञ्चालकहरूको दादागिरी र त्रासले पनि नराम्ररी फसिरहेका छन् । यदि कुनै नेपालीले १०–२० लाख वा ५० लाख रुपैयाँ जित्यो भने उसलाई सहजै फर्कन दिइँदैन । ‘जित्यो भने आज रातभरि खेल भनेर ललाइफकाई, रक्सी खुवाएर जबरजस्ती खेलाउँछन्,’ स्रोत भन्छन्, ‘जबसम्म जितेको पैसा त्यहीँ हारेर रित्तिँदैन, तबसम्म फर्कन दिँदैनन् ।’
खालभित्र हतियार देखाएर तर्साउने र नेपाली खेलाडीमाथि हातपातसमेत हुने गरेको प्रत्यक्षदर्शीहरू बताउँछन् । ‘त्यहाँ दादागिरी हुन्छ, हतियार निकालेर ड्याङ–ड्याङ पड्काउँछन् र मान्छेमा डर–त्रास देखाइराख्छन्,’ एक जानकारले भने, ‘नेपालीहरूलाई अश्लील गालीगलौज र कुटपिटसमेत गर्छन् । एक–दुई झापड खाएपछि दुई–चार दिन जान्न भन्छन्, तर मनले मान्दैन, फेरि त्यहीँ पुग्छन् ।’
आफ्नो जिन्दगीको २५–३० वर्ष यही जुवाखालमा बिताएका ७० वर्ष माथिका एक वृद्धाको कथा कहाली लाग्दो छ । युवावस्थामा साथीभाइको लहैलहैमा लागेर त्यहाँ पुगेका उनले सुरुमा जुवा खेलाएर र खेलेर दैनिक ५ देखि १२ हजार रुपैयाँसम्म कमाएका थिए । तर, आज उनी रित्तो हात छन् ।
‘त्यहीँ कमाएँ, त्यहीँ सकियो । एकको दुई हुन्छ कि भन्ने लोभले मान्छेलाई सिध्याउँछ । यो खेलमा एक दिन जितिन्छ, दश दिन हारिन्छ,’ उनले भने । उनका अनुसार जुवामा जित्दाको रवाफ क्षणिक हुन्छ । ‘आज ५ लाख जित्यो भने १–डेढ लाख त त्यतिखेरै खाएर सकिन्छ, ४०–५० हजार खुसीमा बाँडेरै जान्छ । तर हार्दाखेरि कसैले सोध्दैन,’ पीडा पोख्छन्, ‘हिजो पैसा हुँदा उहाँ हिरो हुनुहुन्थ्यो, सबैले आदर गर्थे । रित्तिएपछि कहाँबाट आयो यो बुढो भन्छन् ।’
अहिले जुवा छोडेको बताउने यी वृद्ध अरू नेपालीहरू आफूजस्तै बर्बाद नहोऊन् भन्ने चाहन्छन् । ‘मेरो जिन्दगी त बर्बाद भयो, अब अरू मान्छे म जस्तै नहोऊन् भन्ने मेरो चाहना हो,’ उनले भने । तर, सीमापारिको गिरोहको डरले उनी आफ्नो नाम सार्वजनिक गर्न डराउँछन् । ‘उनीहरू खतरनाक मान्छे हुन्, बाहिर गयो भने गोली हान्दिन वा मारिदिन सक्छन् । उता कानुन लाग्दैन, तीन महिना बसेर छुटिहाल्छन्,’ उनले त्रास व्यक्त गरे ।
यो जुवाको लत घातक हुने अर्का जुवाडे बताउँछन् । ‘यो पनि ठुलो रोग हो । रक्सी खाने मान्छेले म बिरामी छु, खान्न भन्दैन नि त ! लत लागिसकेपछि त्यस्तै हो । बिहान उठ्यो गाउँघरमा तास खेल्छन्, खानपिनको मतलब छैन, दिउँसो ३–४ बजेपछि पारि (जोगवनी) आउन मन लाग्छ,’ उनले भने ।
जुवा खेलेर फर्कनेहरू राति ९–१० बजे वा कतिपय अवस्थामा बिहान ३–४ बजेतिर भारतबाट आउने रेलका यात्रुहरूको भीडमा मिसिएर नेपाल छिर्छन् । भारतीय भूमिमा भइरहेको यो धन्दा नेपालको कानुनले सिधै बन्द गराउन नसके पनि सीमा नाकामा नेपाल प्रहरी र प्रशासनले कडाइ गरे सजिलै रोकिने जानकारहरूको सुझाव छ । ‘राति ९–१० बजे फर्कने बेलामा नाकामा दुई–चार दिन मज्जाले चेकजाँच र केरकार गरिदिने हो भने यिनीहरू आफैँ टाइट भइहाल्छन्,’ एक जानकारले भने, ‘साँझपख लाखौँ नगद बोकेर पारि जानेहरूमाथि निगरानी बढाउनेबित्तिकै यो बर्बादीको खेल रोकिन्छ ।’






