सर्लाही,१२मंसिर:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहलाई आफ्नै गृहजिल्ला सर्लाहीमा हिन्दु सम्राट सेनाका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । कालो झण्डा देखाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेपछि हिन्दु सम्राट सेनाले त्यसको विरोध गरेको छ ।
पूर्व–पश्चिम हुलाकी राजमार्ग पदयात्राका क्रममा शनिबार सर्लाहीकाे मलंगवा आइपुगेका सांसद सिंहलाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले कालो झण्डा देखाउँदै विरोध जनाएका थिए ।
यसैबीच, हिन्दु सम्राट सेनाका कार्यकर्ताहरूले मलंगवास्थित जिल्ला विकास चोकमा रहेको बाबा स्वामी मठ नजिक सांसद सिंहको पुत्ला दहनसमेत गरेका छन्। उनीहरूले सांसद सिंहका अभिव्यक्ति हिन्दु धर्मविरोधी रहेको आरोप लगाउँदै त्यसप्रति आपत्ति जनाएका थिए ।
कालो झण्डा देखाउने क्रममा प्रहरीले आफ्ना चार जना कार्यकर्तालाई पक्राउ गरेको हिन्दु सम्राट सेनाको नेता कृष्णा यादवको भनाइ छ । आफ्ना कार्यकर्तालाई पक्राउ गरिएको घटनाको विरोध गर्दै उनीहरूले छिटोभन्दा छिटो रिहा गर्न माग गरेको छ ।
हिन्दु सम्राट सेनाका कार्यकर्ताहरूले सांसद सिंहका विगतका अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले आफ्ना कार्यकर्तालाई पक्राउ गरेर विरोध प्रदर्शन गर्ने अधिकारमाथि सरकारले अंकुश लगाउन खोजिएको भन्दै आपत्तिसमेत जनाएका छन् ।







