राधेश्याम पटेल, वीरगंज, २५ असोज ।
तराई–मधेससँगै देशभरि अहिले चाडपर्वको माहोल छ । दशैं मनाउने क्रम चलिरहेको छ । त्यसपछि तिहार, छठलगायत पर्वहरू शुरू हुन्छन् ।
सबैले पूजापाठ गरी नयाँ कपडा, मीठो मसिनो खाएर घरपरिवारसँग मिलेर चाडपर्व मनाइरहेका बेला समाजबाट बहिष्कृत यौन तथा अल्पसंख्यक समुदाय (पारालिंगी)को पीडा भने फरक खालको छ । उनीहरू जब चाडपर्व आउँछ, तब आफूहरू दुःखी हुने गरेको बताउँछन् ।
वीरगंज–१ छपकैयाकी २२ वर्षीया लिजा खाँले विगत १० वर्षदेखि घर नगएको बताइन् । केटा भएर जन्मेकी लिजा १२ वर्षपछि केटीसाथीहरूबीचमा बस्ने, कुराकानी गर्ने, केटाप्रति आकर्षित हुने स्वभाव भएको घरपरिवारले थाहा पाएपछि उनलाई घरबाट निकालेका थिए । वीरगंजमा डेरा लिएर बसिरहेकी लिजाको घरपरिवारले उनलाई घर आउन रोक लगाएको छ । कपाल काटेर रूप परिवर्तन गरी आए मात्र घरमा प्रवेश गर्न दिन्छौं नत्र दिंदैनौं भनी घरपरिवारका सदस्यले थर्काएको उनी बताउँछिन् ।
लिजाले बुबाआमालाई फोन गर्दा पनि फोन नउठाउने, काट्ने, चाडपर्वमा घर जाने रहर भए तापनि नबोलाउने जस्ता कुराले उनलाई हरेक वर्षको चाडपर्वले पिरोल्ने गरेको दुःखेसो पोख्छिन् ।
त्यसैगरी विराटनगर घर भई हाल वीरगंज–१२ ब्रह्मचोकमा बस्दै आएकी यौन तथा अल्पसंख्यक सोना गुप्ता पनि विगत १० वर्षदेखि वीरगंजमैं बसेर जीवन गुजारा गरिरहेको बताइन् । कहिलेकाहीं घरपरिवारलाई चाडपर्वमा रु पाँच/दश हजार खर्च पठाउने गरेको तर घर नगएको उनी सम्झिन्छिन् ।
कसलाई मन हुँदैन, घरपरिवारसँग बसेर चाडपर्व मनाउन, तर हाम्रो समाजले अहिलेसम्म हामीलाई स्वीकार गर्न सकेको छैन । अर्कै दृष्टिकोणले हेर्ने गर्छन् । जसले गर्दा हामी घर जाँदा छिमेकीको डरले गर्दा परिवारका सदस्यहरूले हामीलाई घरभित्र प्रवेश गर्न रोक लगाएको हुन सक्ने उनले बताइन् । चाडपर्वमा आए पनि हामीलाई खुशीको अनुभूति हुँदैन, उनले बताइन् । सुनसान र निरश देखिन्छ हाम्रो जीवन– उनले भनिन् ।
पर्सा, ठोरीकी २७ वर्षीया सिन्धु चौधरीले पनि सात/आठ वर्षदेखि घर नगएको बताइन् । पुरुष भएर केटीको स्वभाव जस्तै आफूमा लक्षण देखिएपछि घरपरिवारले आफूलाई घरबाट बाहिर बस्न सुझाव दिएको थियो । घर छोडेपछि उनी नाच र सात सहेलियामा काम गर्दै वीरगंजमा बस्दै आएकी छन् । चाडपर्व विशेषगरी छठमा घर जान मन भए तापनि वीरगंजमैं बसेर मनलाई सन्तोष दिलाउनुपर्ने उनले बताइन् । आपूmहरू समाजको लागि अभिशाप हौं, गलत काम गर्छौं, गलत स्वरूप बनाएर घुम्छौं जस्ता आलोचना सुन्दा कहिलेकाहीं मरौं कि बाँचौं भन्ने दोधारमा पर्ने गरेको उनले बताइन् ।
यौन तथा अल्पसंख्यक समुदाय (पारालिंगी)ले हामी पनि मानव नै हौं भनेर आफूहरूलाई सामाजिक विभेद नगर्न र लाञ्छना नलगाउन आग्रह गर्दै आएको छ ।
संविधानले सबै किसिमका मानवले बाँच्न पाउनुपर्ने मौलिक अधिकार सुरक्षित गरेको उनीहरूको भनाइ छ ।