राधेश्याम पटेल, परवानीपुर, २८ माघ/
पर्सा जिल्लाको ऐतिहासिक बस्तीको रूपमा चिनिन्छ– शिकारीवासलाई। ठोरी गाउँपालिका–३ स्थित पर्सा राष्ट्रिय निकुञ्जको कोर जङ्गलभित्र पर्ने उक्त बस्तीमा ४३ वटा घर र करीब २५० जनसङ्ख्या छ।
नेपाल सरकारका पूर्वराजाहरू शिकार खेलेर बास बस्ने ठाउँको रूपमा चिनिन्छ शिकारीबासलाई। अहिले सो ठाउँमा ४१ घर थारू समुदाय, एक घर उराव र एक घर यादव परिवार बसोवास गर्छ। जङ्गलको बीच करीब ८५ बिघा आबादी हुने क्षेत्रभन्दा उत्तरपूर्वमा गाउँ पर्छ। ब्रह्मनगरको शिकारीवास पुलबाट ५ किलोमिटर उत्तर लागेपछि यो गाउँ पुगिन्छ। जङ्गलको कच्ची बाटो र वन्यजन्तुको डरत्रासले गर्दा एक्लै आउजाउ गर्न पनि समस्या हुने गरेको स्थानीयहरू बताउँछन्।
स्थानीय अगुवा सुजीतकुमार बस्नेतका अनुसार गाउँ ऐतिहासिक र पुरानो भए तापनि सेवा सुविधामा
निकै पछि परेको बताए। उनले पछिल्लो समयमा सोलार बत्ती सुविधा भए तापनि यो एउटा अस्थायी सुविधामात्र हो।
कुन बेला बिग्रिन्छ त्यसको ठेगान छैन। त्यस कारण नियमित विद्युत् सेवा सञ्चालनको लागि नेपाल सरकारको विभिन्न निकाय गम्भीर बन्नुपर्ने उनको सुझाव छ।
साथै जङ्गलको बाटो पनि स्तरोन्नति गरी पिच बाटो बनाउनुपर्ने गाउँलेहरूको माग छ। बाढीको बेलामा उक्त बाटो भएर आउजाउ गर्न निकै सास्ती खेप्नुपरेको गाउँलेले दुःखेसो पोखे। बिरामीहरूको उपचारको लागि एउटा एम्बुलेन्सको पनि आवश्यकता रहेको त्यहाँका महिलाहरू बताउँछन्। गर्भवती महिलालाई अस्पताल पु–याउन खोज्दा गाउँमा एम्बुलेन्स जङ्गलको बाटो नजाने गरेको र उनीहरू ब्रह्मनगर अथवा निर्मलबस्ती हुलाकी राजमार्गमा मात्र बोलाएर एम्बुलेन्स चढ्ने गरेको बताउँछन्।
कक्षा ५ सम्म पढाइ हुने विद्यालय सञ्चालनमा आइसकेको छ भने भर्खरै स्वास्थ्यचौकी पनि स्थापना भएपछि त्यहाँको शिक्षा र स्वास्थ्यमा केही टेवा पुगेको उनीहरूको भनाइ छ।
धान, गहुँ र तेलहन बाली गरी वर्षमा तीनपटक खेतीपाती हुने सो शिकारीबासमा बसोवास गर्नेहरू अर्काको जग्गा अधिया बटैयामा लिएर गुजारा गर्ने गरेको बताउँछन्। बाटो, बिजुली, एम्बुलेन्स, बस्तीको पूर्वबाट बग्ने खोला नियन्त्रणलगायतको काम सँगसँगै
होटल, रेस्टुरा पनि विकसित भएको अवस्थामा उक्त ठाउँलाई पर्साको एउटा गन्तव्यको रूपमा रूपान्तरण गर्न
सकिने स्थानीय बस्नेत बताउँछन्। तर त्यसतर्फ स्थानीय, प्रदेश र केन्द्र सरकार उदासीन बनेको गाउँलेहरूको बुझाइ
छ।